समाचारमंगलबार, भाद्र १८, २०७०
फेरि पनि ६०१ सभासद्
विघटित संविधान सभाको आकार ठूलो भएकोमा ब्यापक आलोचना भएपछि आगामी संविधान सभामा सदस्य संख्या थोरै हुने बताएका दलहरुले सभासद् संख्या फेरि उत्ति नै पुर्याउने भएका छन् । समितिमा आवद्ध चार दलका नेताहरुले संघीय समाजवादी पार्टीको माग अनुसार सभासद् संख्या ६०१ बनाउने निर्णय गरेका हुन् । समितिमा पछिल्लो समयमा गाँसिएको मधेशी जनअधिकार फोरम नेपाल नेतृत्वको मोर्चाले भने आन्तरिक बैठकपछि मात्रै उक्त निर्णयमा सहमति गर्ने बताएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन उसको माग बमोजिम नै संविधानसभा सदस्य संख्या ६०१ कायम गर्न लागिएको नेकपा एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।
आगामी ४ मंसीरमा निर्वाचन सम्पन्न गराउन हदैसम्म लचक बन्ने भन्ने समितिको सहमति बमोजिम सबै खालका विधि र उपाय अवलम्बन गरिने उनले बताए ।
यसैगरी निर्वाचन प्रक्रियाको विरोधमा रहेको अर्को घटक नेकपा–माओवादीसँग समितिले अनौपचारिक रूपमा गरेको वार्ता र संवादका आधारमा ऊ वार्तामा बस्न तयार देखिएको नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
नेता केसीले भने, “उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीका नेताहरूसँग गरेको अनौपचारिक वार्ता सकारात्मक देखिएकाले औपचारिक वार्तामा बस्ने सहमति भएको छ । एकदुई दिनभित्र वार्ता हुन्छ ।”
भेषवाकरलाई नागरिकता
यसैगरी समितिले नेपाली क्रिकेट खेलाडी शरद भेषवाकरलाई नेपाली नागरिकता प्रदान गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको एमाले नेता पन्तले जानकारी दिए ।
