समाचारबुधबार, भाद्र १९, २०७०
अधिकारी दम्पतीले अनशन तोड्न मानेनन्
१९ भदौ बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटासहितको टोलीले वीर अस्पतालमा आमरण अनशनमा बसेका अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह गरेपछि उनीहरुले अस्वीकार गरेका छन् ।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गराई पाउन आमरण अनशनमा बसेका अधिकारी दम्पतीको जीवन रक्षाको माग गर्दै दायर रिट निवेदनमा मङ्गलबार सर्वोच्च अदालतले अनशन तोड्न लगाउन अनुरोध गर्ने, नभए जबर्जस्ती खाना खुवाउने लगायतका जेजस्ता कार्य गर्न सकिन्छ तत्काल गर्न आदेश दिएको थियो ।
वीर अस्पतालको आइसियु कक्षमा उपचाररत अधिकारी दम्पतीलाई सचिव बास्कोटाले खाना खान र जीवन बचाएर न्यायका लागि सङ्घर्ष गर्न आग्रह गरेका थिए । तर अधिकारी दम्पतीले त्यसलाई स्वीकार गरेनन् ।
सचिव बास्कोटाले अधिकारी परिवारलाई न्याय दिलाउन र जीवन रक्षा गर्न सरकारको पहल जारी रहने बताएका छन् ।
यसैबीच अस्पताल परिसरमा मानवअधिकारवादी र द्वन्द्वपीडितले अधिकारी दम्पतीले न्याय पाउनुपर्ने माग राखी धर्ना दिइरहेका छन् । अधिवक्ता दिनेश त्रिपाठी, द्वन्द्वपीडित सावित्री श्रेष्ठलगायतले धर्नाको अगुवाइ गरिरहेका छन् ।
रासस
