समाचारशुक्रबार, भाद्र २१, २०७०

संघीय समाजवादीसँग पाँच बुदे सहमति

हिमालखबर

२१ भदौ बिहान भएको वार्तामा उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

२० भदौ राति अबेरम्म बसेको वार्तामा भएको सहमतिलाई बिहान अन्तिम रुप दिई हस्ताक्षर गरिएको हो ।

आगामी ४ मंसीरको निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलहरुसहितको सर्वदलीय बैठक आयोजना गर्ने पनि सहमति भएको छ । सहमतिमा हस्ताक्षर गरेपछि संविधानसभा सदस्य संख्या ६०१ नै कायम राख्ने सहमति बनेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।

वार्तामा समितिका संयोजक सुशील कोइराला नभएकाले उनका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र समाजवादी पार्टीका तर्फबाट अध्यक्ष अशोक राईले हस्ताक्षर गरेका छन् ।

पाँचबुँदे सम्झौतामा सर्वदलीय बैठकको आयोजना गर्ने र त्यस्तो बैठकमा अघिल्लो संविधानसभामा प्रतिनिधित्व गरेका दलहरु सहभागी हुने, सभासद संख्या ६०१ कायम गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आवश्यक कानूनको व्यवस्था गर्ने र विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्दै आवश्यक गृहकार्य गर्ने उल्लेख छ ।

सहमतिसँगै संघीय समाजवादी पार्टीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टी, नेपालबीच भएको सहमति

नेपाल सरकारद्वारा घोषित दोश्रो संविधान सभाको निर्वाचनलाई सुनिश्चित गर्दै उच्च स्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टी, नेपालबिच देहाय बमोजिम सहमति भएको छ –

१. सम्बत २०६९ साल फागुन ३० गते भएको ११ बुँदे राजनीतिक सहमति र त्यसपछि नेपाल सरकारको सिफारिसमा नेपालको अन्तरिम संविधान–२०६३ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेशमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभाको दोस्रो निर्वाचनका लागि संविधान सभाको सदस्य सङ्ख्या, अनुपात र प्रतिनिधित्व २०६४ सालको संविधान सभाको निर्वाचनमा कायम रहे अनुरूप संविधानको धारा ६३ को उपधारा ३ बमोजिम गर्न सम्माननीय राष्ट्रपति र नेपाल सरकार, मन्त्रिपरिषदलाई अनुरोध गर्ने ।

२. संविधान सभाको घोषित निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभाको सभासद रहेका सबै दलहरूको सर्वदलीय बैठक आयोजना गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. भावि संविधानका आधारभूत सिद्धान्तका विविध पक्षमा छलफल अघि बढाई विगत संविधान सभामा भएका सहमति समेतका आधारमा आवश्यक सहमति कायम गर्न अधिकतम प्रयत्न गर्ने ।

४. विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार प्रदान गर्ने सन्दर्भमा यथासमय आवश्यक कानूनी व्यवस्था गरी सोको प्रक्रिया थालनी गर्ने ।

५. उपरोक्त सहमतिका आधारमा सङ्घीय समाजवादी पार्टी, नेपालद्वारा घोषित आन्दोलन फिर्ता लिई २०७० साल मङ्सिर ४ गते हुने निर्वाचनमा सहभागी हुने ।

अशोक राई रामचन्द्र पौडेल

अध्यक्ष                                                                                               संयोजकको तर्फबाट

सङ्घीय समाजवादी पार्टी, नेपाल                                                  उच्चस्तरीय राजनीतिक समिति

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>