समाचारशुक्रबार, भाद्र २१, २०७०
झुट र भ्रम बाँडेर चुनाव जितिँदैनः कोइराला
२१ भदौमा आफ्नै निवास महाराजगञ्जमा रासस प्रतिनिधिसँगको विशेष कुराकानीमा सभापति कोइरालाले निर्वाचनको विपक्षमा उभिएका दलका नेतालाई सहमतिमा ल्याउने प्रयास अन्तिम समयसम्म गरिन तर, उनीहरु सहमतिमा नआए पनि निर्वाचन भने नरोकिने बताएका छन् ।
“निर्वाचनका लागि तोकिएको मिति सार्ने र सरकार विघटनबाहेक हामीले अरु माग सम्बोधन गर्ने भनेकै छौँ,” उनले भने, “कसैले अराजनीतिक तथा अलोकतान्त्रिक माग प्रस्तुत गरेर निर्वाचनको विपक्षमा आफूलाई उभ्याउँछ भने नेपाली जनताले नै उनीहरुको बहिष्कार गर्छन् ।”
जनता धेरै सचेत भइसकेको र दलको भूमिकालाई राम्रोसँग मूल्याङ्कन गरेको हुँदा झुट र भ्रम बाँडेर कुनै दलले पनि चुनाव जित्न नसक्ने कोइरालाको ठम्याइ छ ।
उनले आफू कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने अझै निश्चित नगरीसकेको भन्दै थपे, “अन्य धेरै जिल्लाका साथीले पनि चुनावमा उठ्न अनुरोध गरेका छन्, कहाँबाट उठ्छु मैले अहिले निर्णय गरिसकेको छैन ।”
पार्टीमा त्याग, सङ्घर्ष गरेका र सक्रिय कार्यकर्तालाई मात्र प्रत्यक्ष तथा समानुपातिक स्थान दिइने स्पष्ट पार्दै कोइरालाले नेताको पछिपछि मात्र लाग्ने, अरु बेला पैसा कमाउन अन्य व्यवसाय गर्ने तर चुनाव आयो भने टिकटका लागि ढोका चाहार्नेलाई कुनै पनि हालतमा टिकट नदिइने दाबी गरे ।
उनले चेतावनी दिए, “टिकट नपाएर विद्रोह गर्ने, अन्तर्घात गर्ने र विपक्षमा उभिने कार्यकर्तालाई पार्टीको विधानअनुसार तत्काल कारबाही हुन्छ ।”
