थप समाचारशुक्रबार, भाद्र २१, २०७०
निकासका लागि गोलमेच: रामबहादुर थापा
नेकपा–माओवादीले आयोजना गरेको निर्वाचन विरोधी अभियान अन्तर्गत २१ भदौमा चितवनको नारायणगढमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव रामबहादुर थापाले ४ मंसीरको निर्वाचनमार्फत नेपाललाई सिक्किमीकरण गर्न खोजिएको आरोप लगाएका छन् ।
उनले माओवादीले उठाएका मुद्दा जनताको पक्षमा भएको दाबी गर्दै आफूहरु बिना देशको राजनीतिक संकटले निकास नपाउने जिकिर समेत गरे ।
थापाले आफ्नो पार्टीले शान्तिपूर्ण रुपमा निर्वाचनको विरोध गरिरहेको भन्दै यसमा कसैले अवरोध गरे कडा प्रतिरोध गर्ने धम्की समेत दिए ।
यसअघि उच्चस्तरीय राजनीतिक समितिसँग गोलमेच सम्मेलन गर्ने सहमति गरेको माओवादीले गोलमेचमा सरकार र निर्वाचन मिति परिवर्तन गर्नुपर्ने, गोलमेच सम्मेलनको अवधि ६ महिनासम्म हुनुपर्ने जस्ता विषयहरुमा आफूले अडान राख्ने बताएपछि गोलमेच सम्मेलन हुन सकेको थिएन ।
तर २१ भदौमा फेरि समिति र संघीय समाजवादी पार्टीबीच सर्वदलीय सम्मेलन गर्ने सहमति भएको छ । उक्त सम्मेलनमा भाग लिने वा नलिने बारे माओवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
सविता श्रेष्ठ, चितवन
