समाचारआइतबार, भाद्र २३, २०७०

साफ फुटबल: बिहानै टिकट सकिएपछि नाराबाजी

हिमालखबर

दर्शकहरुको बढ्दो सहभागितालाई ध्यानमा राखेर एन्फाले टिकटको मूल्यसमेत बढाएको छ । तर बढेको मूल्यको टिकट पनि एकै घण्टामा सकिएपछि निराश बनेका दर्शकहरुले आफूहरुले खेल हेर्न पाउनु पर्ने भन्दै उत्तेजनामा आएर नाराबाजी गरेका छन् ।

उनीहरुलाई प्रहरीले तितरवितर पारेको छ ।

——————————————————————————–

साफ फुटबल: टिकट लिन कोपुण्डोलसम्म लाइन

हिमालखबर

आईतबार , २३ भदौ २०७० १०:२५ एम

आठौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपाल तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल र अफगानिस्तानबीच २३ भदौमा हुने खेल हेर्न बिहानैदेखि दशरथ रंगशालामा टिकट लिनेहरुको घुइँचो छ । टिकट लिने नेपाली दर्शकहरुको लाइन त्रिपुरेश्वर, थापाथाली हुँदै बाग्मती पुल पार गरेर कोपुण्डोलसम्म पुगेको छ ।

नेपाली टोली सेमिफाइनलमा पुगेको र जीतको सम्भावना धेरै भएकोले पनि नेपाली खेलाडीसँगै दर्शकहरु पनि उत्तिकै उत्साहित छन् । नेपालमा फुटबलको ‘क्रेज’ पहिल्यैदेखि रहेको र यसपटक आफ्नै भूमीमा स्वदेशको टोलीले राम्रो खेल प्रदर्शन गरिरहेकाले पनि दर्शकहरुमा उत्साह थप बढेको हो ।

यसअघि सन् १९९९ र २०११ मा सेमिफाइनलमा प्रवेश गरेको नेपालले यसपटक पनि सेमिफाइनल समीकरणमा अफगानिस्तानको सामना गर्ने भएको छ ।

सन् २०११ मा भारतको नयाँ दिल्लीमा भएको सातौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । सेमिफाइनल खेलमा नेपाल खेलको दोस्रो हाफको अतिरिक्त समयमा शून्यका विरुद्ध एक गोल खाँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपालले सन् १९९७ मा पहिलो पटक साफ फुटबलको आयोजना गरेको हो । यसअघि सन् १९८४ र १९९३ मा भएको प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले जितेको स्वर्ण नै अन्तर्राष्ट्रियस्तरको सबैभन्दा ठूलो सफलता हो । त्यसयता अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन ।

यस्तै समूह ‘ए’ मै रहेको भारतले सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ । पाकिस्तानका कप्तान समर इसाकले आफ्नै गोल पोस्टमा आत्मघाती गोल गरिदिएपछि भारत भाग्यमानी सावित भएको थियो ।

भारत र पाकिस्तानको समान ४ अङ्क रहेतापनि हेड टु हेडको आधारमा भारत सेमिफइनलमा प्रवेश गरेको हो ।

नेपाली फुटबल टिमका प्रशिक्षक ज्याक स्टेफोनस्की यसअघि भएको खेलमा नेपालले भारतलाई दुई एक गोलको जित निकालेपछि नेपाली टोलीमा झन् आत्मबल बढेको बताउँछन् ।

उनले नेपाली टिम उत्कृष्ट टिम भएकाले अफगानिस्तानसँगको खेलमा राम्रो प्रदर्शन गर्ने वश्वास व्यक्त गरे ।

यसैबीच प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले टिकट दरमा वृद्धि गरेको जनाएको छ ।

साधारण प्याराफिटतर्फ रु ३०० पर्ने टिकटलाई रु ५०० र भिआइपीतर्फ रु ७०० पर्ने टिकटलाई रु एक हजार कायम गरेको छ ।

साफ विजेताले ५० हजार अमेरिकी डलर र उपविजेताले २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने सेमिफाइनमा प्रवेश गर्ने दुवै टिमले दस÷दस हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

एन्फाले नेपाली टिमले प्रतियोगिताको उपाधि चुमेमा हरेक खेलाडीलाई आजीवन मासिक रु १० हजार भत्ताका साथै प्रत्येक खेलाडीलाई एक एक वटा अपार्टमेन्ट दिने घोषणा यसअघि नै गरिसकेको छ ।

राष्ट्रिय टिम फरवार्डमा अनिल गुरुङ, जुमानु राई, भरत खवास, सन्तोष साउखल, विमल घर्तीमगर, मिडफिल्डमा रोहित चन्द भोलानाथ सिलवाल, विक्रम लामा, राजु तामाङ, टङ्कबहादुर बस्नेत, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी रहेका छन् ।

यस्तै डिफेन्समा सागर थापा, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, सन्दीप राई र विराज महर्जन छन् भने गोल रक्षकमा किरणकुमार चेम्जोङ, रितेश थापा र विशाल श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>