थप समाचारआइतबार, भाद्र २३, २०७०
सरकारको नेतृत्व राहुलले गर्नेछन: मनमोहन सिंह
गान्धी परिवारका कान्छो सदस्यका रूपमा भारतको कांग्रेस पार्टीको राजनीतिमा रहेका ४२ वर्षीय राहुललाई प्रधानमन्त्री मनमोहन सिंहले पार्टीका तर्फबाट भारतको आगामी प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।
रुसमा जि२० को सम्मेलन सकेर स्वदेश फर्किने क्रममा सम्वाददाताहरूसँग सिंहले भने, “मलाई दिएको जिम्मा सम्पादन गर्नेछु तर, आगामी प्रधानमन्त्रीका रूपमा पार्टीले राहुल गान्धीलाई अघि सार्नेछ ।”
राहुल गान्धी भारतीय काँग्रेसका वर्तमान अध्यक्ष सोनिया गान्धी र हत्या गरिएका पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा हुन् । उनी अहिले पार्टीका उपाध्यक्ष समेत छन् ।
सन् २०१४ को आम निर्वाचनपछि यदि कांग्रेसले बहुमत प्राप्त गरे पनि आफू भने फेरि प्रधानमन्त्री नबन्ने पनि सिंहले स्पष्ट पारेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
भारतमा आगामी वर्षको अप्रिल मेमा हुने संसदीय निर्वाचनमा प्रतिपक्षी दल भारतीय जनता पार्टीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको नाम अघि सार्ने जनाएको छ । यद्यपि यस विषयमा औपचारिक निर्णय भने भएको छैन ।
