समाचारआइतबार, भाद्र २३, २०७०
मौका गुमायो नेपालले, १–० ले पराजित
नेपालले पाएको दुईवटा पेनाल्टी फ्रि किकको अवसर सदुपयोग गर्न नसक्दा अफगानिस्तानका लागि जर्सी नं ११ का खेलाडीले ११ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
आठौँ साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत २३ भदौमा दशरथ रङ्गशालामा भएको सेमिफाइनल चरणको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले पराजित भएको छ ।
खेलको दोस्रो हाफको ८५ औँ मिनेटमा पाएको दोहोरो पेनाल्टी प्रहार गर्ने अवसर पाएका नेपाली डिफेन्डर रोहित चन्दको प्रहार अफगान गोलकिपरले सहजै छेकिदिए । डिफेन्डरलाई पेनाल्टी प्रहार गर्न दिनु गलत सावित भयो ।
अफगानिस्तानका गोलकिपरले विमल घर्तीमगरलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए भने चन्दले पेनाल्टी प्रहार गर्ने समयमा अफगानिस्तानका खेलाडी पेनाल्टी एरियाभित्र प्रवेश गरेपछि रेफ्रीले दोस्रो पेनाल्टी दिएका थिए ।
यसअघि सन् २०११ मा भारतको नयाँदिल्लीमा भएको सातौँ संस्करणको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग १–० गोलले पराजित भएको थियो ।
खेलमा नेपालको पराजयपछि आक्रोशित दर्शकले मैदानमा मोबाइल टेलिफोन पनि प्रहार गरेका थिए ।
