थप समाचारसोमबार, भाद्र २४, २०७०
धरानमा तरकारीको मूल्य छोइनसक्नु
तरकारीका लागि पहाडी क्षेत्रमा निर्भर धरानमा सडक अवरुद्ध भई तरकारी आउन नसक्दा तरकारीको मूल्य ह्वात्तै बढेको छ । तरकारीको आपूर्ति नै बन्द भएपछि कृषिउपज बजारस्थल र धरान–३ को पालिका तरकारी बजार सुनसान छन् ।
धनकुटाको मुलघाटमा पहिरोले सडक बगाएपछि धरान–धनकुटा जोड्ने सडक तीन दिनदेखि अवरुद्ध छ ।
कृषिउपज बजार व्यवस्थापक कृष्ण भट्टराईका अनुसार धरानमा धनकुटा, तेह्रथुम र पाँचथरबाट दैनिक १० टन भन्दा बढी तरकारीको आपूर्ति भइरहेको थियो । सडक अवरुद्ध भएपछि भरियाले बोकेर ल्याएको तरकारी छोइनसक्नु महंगो भएको छ ।
पहाडी जिल्लाका तरकारी धरान बाहेक इटहरी, इनरुवा, विराटनगर, दमक तथा भारतको सिलगुडी, पटना, फारविसगञ्जसम्म निर्यात हुन्छ । तरकारी बजारमा भेटिएकी धरान–१५ की उपभोक्ता रेविका राईले ताजा तरकारी नपाएको र पाइएको पनि महंगो भएर किन्न नसकिने बताइन् ।
धरानमा पाँचकन्याबाट समेत तरकारी आउने गरेकोमा सेउतीको काठे पुल भत्किएपछि त्यहाँबाट हुने आयात पनि ठप्प भएको छ ।
सोहन श्रेष्ठ,धरान
