थप समाचारमंगलबार, भाद्र २५, २०७०
एक चौथाइ पुरुषले बलात्कार गर्छन: राष्ट्रसंघको सर्वेक्षण

भारतको राजधानी दिल्लीमा एक युवतीको सामूहिक बलात्कारपछि मृत्यु भएपछि ३० डिसेम्बर २०१२ मा भएको विरोध प्रदर्शन । फाइल तस्वीरः एएफपी
बांग्लादेश, चीन, कंबोडिया, इंडोनेसिया, श्रीलंका र पापुआ न्यू गिनीमा गरिएको सर्वेक्षणमा स्त्री-पुरुषको आपसी संबंधमा बलात्कार भइरहने घटना भएको डरलाग्दो तथ्य बाहिर आएको छ ।
सर्वेक्षणमा सहभागी प्रत्येक १० मा एक जनाले आफूले कुनै न कुनै महिलासँग बलात्कार गरेको स्वीकारेका छन, जुन महिला उसकी ‘पार्टनर’ थिइनन् ।
सर्वेक्षणमा ६ देशका १० हजार व्यक्ति सहभागी गराइएको थियो ।
यस्तो किन गरेको भन्ने प्रश्नको उत्तरमा धेरैले यौन सम्बन्धको आवश्यकता, मन पराएर र मनोरञ्जनका लागि भन्ने जवाफ दिएका छन् भने केहीले सम्बन्धित महिलालाई सजाए दिन समेत भनेका छन् । महिलाविरुद्धको अपराधबारे गरिएको यस्तो खालको यो पहिलो सर्वेक्षण हो ।
सर्वेक्षणमा प्रतिक्रिया दिने पापुआ न्यू गिनीका ६२ प्रतिशत पुरुषले आफूले बलात्कार गरेको स्वीकारे । बंगलादेशको ग्रामिण क्षेत्र र इन्डोनेसियामा यो संख्या सबैभन्दा कम पाइयो ।
अधिकांश पुरुषहरुले बलात्करपछि आफूलाई कुनै कानूनी कारवाहीको सामना गर्नु नपरेको पनि बताए ।
शोधकर्ताहरुका अनुसार लैंगिक विभेद बाहेक गरीबी वा बाल्यकालमा भावनात्मक वा शारीरिक उत्पीडनको शिकार भएका पुरुषहरुमा हिंस्रक ब्यवहार बढी हुने गरेको पाइयो । बाल दुर्व्यवहार भोगेका, हिंसामा परेका पुरुषाहरुले यस्तो हिंसा गर्ने र सम्बन्धित क्षेत्रमा कानूनको कार्यान्वयन नहुनुले पनि महिलामाथिको हिंसा बढाएको शोधकर्ताहरुले बताएका छन् ।
यसअघिको विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार विश्वमा करिब एक तिहाई महिलाहरु घरेलु वा यौन हिंसाको शिकार हुने गर्छन् ।
सर्वेक्षणमा बलात्कार शब्दको प्रयोग गरिएको थिएन । पुरुषहरुलाई उनीहरुले कुनै महिलाको मञ्जुरी बिना जबरजस्ती यौन सम्बन्ध बनाउन बाध्य पारेका थिए वा थिएनन् भनेर सोधिएको थियो ।
सर्वेक्षण विभिन्न देशहरुका निश्चित क्षेत्रमा गरिएकोले यसले सम्पूर्ण देशलाई प्रतिनिधित्व नगर्ने पनि बताइएको छ ।
सर्वेक्षणमा सहभागी ११ प्रतिशले आफ्ना ‘पार्टनर’ बाहेकका महिलासँग बलात्कार गरेको बताएका छन् भने पत्नी, प्रेमिका र साथीहरु जस्ता ‘पार्टनर’सँग बलात्कार गर्नेहरुलाई जोड्ने हो भने यो संख्या २४ प्रतिशत पुग्छ ।
बलात्कार गरेको स्वीकार्ने पुरुषहरुमध्ये झण्डै आधा (४५ %) ले एकभन्दा बढी महिलालाई बलात्कार गरेको बताएका छन् । यस्तामध्ये अधिकांश किशोरहरु र १२ प्रतिशत १५ वर्ष भन्दा मुनीका रहेको सर्वेक्षणमा फेला परेको छ ।
यो अध्ययनका लागि संयुक्त राष्ट्र संघका केही एजेन्सीसँगै अष्ट्रेलिया, बेलायत, नर्वे र स्वीडेनले सघाएका थिए ।
एएफपी
