थप समाचारबुधबार, भाद्र २६, २०७०
हिउँ चितुवाको संख्या बढ्यो (तस्वीरसहित)
गत बर्ष ताप्लेजुङमा १२ वटा हिम चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो संख्या बढेर कम्तिमा पनि २० पुगेको कञ्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परिक्षणले कञ्चनजंघा संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान छ ।
पछिल्लो समयमा लेलेप– ९ राम्देन शिरमा नाउरको शिकार गर्दै गरेको हिउँ चितुवाको तस्वीर क्यामरामा कैद भएको थियो ।
याम्फुदिन राम्जेल ब्लक, घुन्सा क्षेत्रको घुन्सा भ्याली, याङमा भ्याली र गोला भ्यालीमा हिउँ चितुवा पाइने कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्वोले बताए ।
हिम चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा १९ देखि २९ वटा सम्म हिउँ चितुवा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनका प्रबन्धक सुजितकुमार श्रेष्ठको भनाई छ ।


