समाचारबुधबार, भाद्र २६, २०७०
सरकार-समिति वार्ता: निर्वाचन ४ मंसीरमै
२६ भदौ विहान राजनीतिक समितिमा आवद्ध नेताहरुले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटी नेकपा–माओवादी निर्वाचनमा आउने सम्भावना नरहेको भन्दै अन्य असन्तुष्ट दलहरुसँग भएको सहमति अनुसार संविधान संशोधन गरी निर्वाचन सुनिश्चित गर्न आग्रह गरेका छन् ।
यसअघि २५ भदौ साँझ बसेको समिति बैठकले नेकपा–माओवादीले छलफल र गोलमेचका नाममा निर्वाचन हुन नदिने खेल गरिरहेको निष्कर्ष निकालेको थियो ।
नेकपा–माओवादी लगायतका निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँग ४ मंसीरको निर्वाचनलाई प्रभाव नपर्ने गरी वार्ता भने कायमै राखिनेबारे सरकारलाई जानकारी गराइएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् ।
यसअघि समितिका नेताहरुले २५ भदौ दिउँसो राष्ट्रपति रामवरण यादवलाई भेटी असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन आफूहरुको प्रयासले नभएपछि पहल गरिदिन आग्रह गरेका थिए ।
रेग्मीसँगको भेटमा समितका तर्फबाट संयोजक एवम् कांग्रेस सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र नेता मिनेन्द्र रिजाल र फोरम लोकतान्त्रिकका महासचिव रामेश्वरराय यादव सहभागि थिए ।
निर्वाचन आयोगले मतपत्र छपाई पूर्वको तयारी गर्नुपर्ने बेला भइसकेको भन्दै चाँडै टुंगोमा पुग्न निर्वाचनमा सहभागी हुन चाहने दलहरु र सरकारलाई आग्रह गर्दै आएको छ ।
