थप समाचारबुधबार, भाद्र २६, २०७०
कर्मचारी आन्दोलनले अस्पतालको सेवा प्रभावित
एमाओवादी निकट अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल आधिकारीक यूनियनको अगुवाइमा कर्मचारीले २६ भदौमा काम बन्द गरी दुई घण्टा अस्पताल प्रशासनमा धर्ना दिएका छन् ।
गत १ जेठमा १७ वँदे मागपत्र प्रशासनलाई बुझापछि भएका वार्ताहरुबाट पनि समस्या समाधान नभएपछि आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् । कर्मचारीको धर्नाले अस्पतालको बहिरंग सेवा लगायतका अन्य सेवा प्रभावित भएको अस्पतालले बताएको छ । कर्मचारी शिव केसीले तलवबृद्धिसहित आवास, यातायात, पोशाक खर्च लगायत १७ बुँदे माग राखेर आन्दोलित भएको बताए ।
वार्ता समितिका सदस्य समेत रहेका केसीले अस्पताल प्रशासन र कर्मचारीबीच १४ पटक र अन्य सरोकारवालाको मध्यस्थतामा १२ पटकसम्म वार्ता बस्दा पनि प्रशासनले माग पुरा नगरेपछि आन्दोलनमा उत्रिएको बताए ।
मणिपाल शिक्षण अस्पतालका मानव संसाधन विभाग प्रमुख विरेन्द्रकुमार यादवले कर्मचारीका सबै माग पुरा गर्न नसकिने बताए । “कर्मचारीले आफ्नो अडान नछाडेका कारण विभिन्न चरणका वार्ता विफल भएको हो,” उनले भने, “कर्मचारी पनि लचिलो भएर आएमा केही मागलाई सम्वोधन गर्न सकिनेछ ।” उनले नेपाल सरकारले दिएको भन्दा पनि बढी सुविधा कर्मचारीलाई दिएको दावी गरे ।
माधव बराल, पोखरा
