समाचारबुधबार, भाद्र २६, २०७०

‘ग्राहकले सुनको पाउजु ल्याइदियो’

हिमालखबर

त्रिशूलीबाट एसएलसी दिएपछि म पढ्नकै लागि काठमाडौं आएँ । बुबा सामान्य कर्मचारी हुनुहुन्थ्यो । म र तीन जना भाइलाई पढाउन पैसाले नपुगेपछि उहाँ इन्डिया जानुभयो, बिरामी परेर आउनुभयो । मैले उहाँलाई ‘तपाईं आराम गर्नुस्, म जे सक्छु त्यही गरेर परिवार हेर्छु’ भनें ।

त्यसपछि मिनरल वाटरको मार्केटिङको काम गर्न थालें । काम राम्रो हुँदै जाँदा एक साँझ हामीलाई पार्टी दिन डान्स रेस्टुरेन्टमा लगियो । मैले जीवनमा पहिलो पटक नाचगान गर्दै खाने ठाउँ देखें । त्यसपछि साइपाल नामक डान्सबारमा बेट्रेस बनें । मलाई पैसा कमाएर पूरै परिवार पाल्नु र तीन भाइलाई पढाउनुथियो । अर्काको भागको टेबुल पनि सफा गरिदिन्थें, मान्छेहरू खुशी भएर टिप्स दिन्थे । मेरो तलब रु.१८०० मात्र थियो, धेरै पैसा लैजाँदा आमाले शंका गरेर सोध्नुहुन्थ्यो । आमालाई मैले ‘टिप्स’ को अर्थ बुझाएँ ।

मेरो काम देखेर रेस्टुरेन्टले मलाई डान्सर बनायो, तलब रु.६००० भयो । त्यो वेलासम्म आमा र भाइहरू त्रिशूलीमै थिए । अब काठमाडौंमा राख्न सक्छु जस्तो लागेर झिकाएँ अनि दिउँसो मार्केटिङ, साँझ डान्सबार र राति क्यासिनो र्याडमा काम गर्न थालें । यही बीचमा फाइनान्स कम्पनीबाट पैसा निकालेर ग्वार्कोमा चारआना जमीन किनें, राता मकै भन्ने रेस्टुरेन्ट पनि खोलें । यति गर्दा पाँच लाख ऋण चढ्यो । यही बीचमा बुबा बित्नुभयो, रेस्टुरेन्ट बेचियो । आमाले जग्गा पनि बेचेर ऋण तिर भन्नुभयो, तर मैले बुबाले देख्नुभएको जग्गा बेच्दिनँ भनें । ऋण सम्झँदा चाहिं आत्तिएर रुन मन लाग्थ्यो ।

यही बीचमा रु.३० हजार तलबमा ल्हासाको रेस्टुरेन्टमा काम गर्ने प्रस्ताव आयो । त्यहाँ पुग्नासाथ टीमलाई शुरूको तलब मलाई ऋण दिन अनुरोध गरें, सबैले माने पनि । आमाले सबै पैसा फाइनान्स कम्पनीलाई बुझाउनुभएछ । घर खर्च केले चल्यो भनेर सोध्दा आमा रुनुभयो । त्यहाँबाट फर्केपछि तान्जानियाको ‘अफर’ आयो । हामी नेरु.४० हजार पक्का गरेर गयौं, बाँकी ४० हजार एजेन्टको भयो । हामी राम्रो ठाउँमा परेछौं । भारतीय साहुले हामीलाई वेलावेला मन्दिर, समुद्री किनार र पानीपुरी ख्वाउन इन्डियन रेस्टुरेन्टमा लैजान्थ्यो ।

हामी बारमा नाच्थ्यौं, अरू काम अफ्रिकीहरूले गर्थे । उनीहरूले थकालीले भन्दा मीठो नेपाली खाना पकाउँथे, हामीलाई गाह्रो हुँदा तेल लगाइदिन्थे, लुगा समेत धोइदिन्थे । उनीहरूको माया घर बिर्साउने खालको थियो । टीभी हेर्न र घरमा फोन गर्न पाइन्थ्यो । आमाले फोनमा ‘घरबेटीले निकाली’ भन्दा भक्कानिएर रोएँ । त्यही वेला अब घर बनाउँछु भन्ने कसम खाएँ । आज एकतले भए पनि ग्वार्कोमा मेरो आफ्नै घर छ ।

अफ्रिकामा हामीले पूरै शरीर छोप्ने अरेबियन लुगा लगाएर नाच्नुपर्थ्यो । ग्राहकले छुन, बोल्न र फोन गर्न समेत पाउँदैनथ्यो । नाच्दा कुनै ग्राहकले मन पराएर माला लगाइदिन चाहेको कुरा त्यहाँ उभिएको मान्छेले भन्छ । माला पनि त्यही मान्छेले लगाइदिन्छ । अनि त्यो ग्राहकलाई हेर्दै मुस्कान र अदा दिंदै नाच्नुपर्छ । इशारामा सबथोक गर्ने हो । आफूलाई मन पराउने ग्राहकको मन जति जित्यो उति माला पाइन्छ ।

एक पटक ‘पायलिया…’ बोलको गीतमा नाच्दा मैले मुस्कुराउँदै पाउजु नभएको खुट्टा देखाएँ, भोलिपल्ट भारतीय ग्राहकले सुनको पाउजु ल्याइदियो । त्यही वेला एक जना बिहारी ग्राहक पनि मसँग ‘फिदा’ भएको थियो । एकै पटक दुई जनालाई सम्हाल्नु क्या मुश्किल ! (हाँसो…) उनीहरूलाई ‘एटेन्सन’ पुगेन भने रिसाउँछन् । तर म पाँच जना आए पनि सम्हाल्थें ।

म दुई पटक तान्जानिया गइसकें । दोस्रो पटक जाँदा महीनामा लाख रुपैयाँ कमाएँ । अब त त्योभन्दा बढी हुनेभयो भने मात्र जान्छु । परिवार बचाउनुपर्ने वेलामा जति पैसा आए पनि विना ‘बार्गेनिङ’ काम गरें । अहिले ऋण तिरिसकें, घर बनाएँ । भाइहरूलाई पढाउँदैछु । ठूलो भाइको बिहे गरेर पसल पनि थापिदिएकी छु । मैले सिनेमाको जस्तो जिन्दगी भोगें ।

हामीलाई ‘नाचेर हिंड्ने’ भन्नेहरूलाई म मिहिनेत गर्न किन नपाइने भनेर सोध्न चाहन्छु । हाम्रो आफ्नै अनुशासन छ । दुःखबाट आएको हो, पूरै परिवार हाम्रो पछाडि हुन्छ । चाहेर पनि बरालिन सकिंदैन । म चाहन्छु, मिडियाले पनि खाली नराम्रो हैन, काम र परिश्रमले सम्मान पाउने समाचार पनि लेखोस् ।

रेश्मा तण्डुकार (२७), वार्तामा आधारित

—————————————————————————————————————————————–

‘थुनेर राखे पनि रमाइलै थियो’

म दुई वर्षअघि एजेन्टको सहयोगमा भारतहुँदै तान्जानिया पुगेकी हुँ । हामीलाई एअरपोर्टबाट सीधै टीओटी (टक अफ द टाउन) भन्ने रेस्टुरेन्टमा लगेर ताल्चा लगाएर राखियो । हामी कुखुरा जस्तै भयौं, नाच्ने वेला हुरुरु बाहिर आयो, नाच सकिएपछि फेरि खोरमा । एक वर्षमा एक दिन मात्र समुद्र र नरिवलको बोट देखियो, त्यो पनि नेपाल आउनु एक हप्ताअघि मात्र ।

थुनिएर बस्दैमा नरमाइलो भने भएन । भारतीय साहुको रेस्टुरेन्ट पारिवारिक खालको थियो । नेपाली केटीले राम्रो व्यापार गरिदिएको भन्दै साहुले हामीलाई माया गथ्र्यो । राम्रो व्यापार भएको दिन हामीभन्दा अघि नै कोठामा दूध–काजु पुगिसकेको हुन्थ्यो । साहुले दिवाली मनाउँदा हामीलाई पनि रमाइलो गर्न दिन्थ्यो । दशैं मनाउन पनि दियो । निधारभरि रातो टीका लगाएर नाच्दा ग्राहकहरू गललल हाँस्थे । तलबमा भने दलालले पहिल्यै ठगिसकेको हुँदोरहेछ । भारतमा हुँदै एउटा कागजमा सही गराएको थियो । हामीलाई भारु ७० हजार दिने भनेर लगेकोमा नेरु. ४० हजार पाउने कागज गराएको रहेछ । अरू पैसा उसैले खाएछ ।

अन्यत्र छोटो लुगामा नाच्नुपर्छ, ग्राहकसँग जान पनि पर्छ भन्ने सुनेकी थिएँ । तर, हामीले छोटो लुगा लगाउँदा पनि भित्र लेगिंग्स लगाउनुपथ्र्यो । लेहेंगा लगाउँदा पनि पेट छोप्नुपर्ने । स्टेजमा नाच्दा इशारामा जति हुन्थ्यो, ग्राहकसँग हुने त्यति नै हो । उनीहरूलाई नखरा मन परेपछि माला पाइन्थ्यो । जति मन जित्यो, त्यति माला पाइन्थ्यो । माला लगाएपछि उसैलाई हेरेर नाच्नुपर्ने, नजर यताउता भयो कि रिसाउने । साहुले माला गनेर त्यस्ता ग्राहकबाट लिने पैसाको ४० प्रतिशत हाम्रो हुन्थ्यो ।

काम सकिएपछि हामी कोठामा गएर माला लगाइदिने ग्राहकहरूलाई ‘मुर्गा’ भन्दै उडाउँथ्यौं । उनीहरू हामीलाई हेरेकै भरमा त्यत्रो पैसा सिध्याएर जान्छन् । नेपालमा त ग्राहकसँग टाँसिएर टेबुलमा बस्नुपर्छ, मस्कामस्की गर्नुपर्छ । अफ्रिकाका ग्राहकहरू त विचरा नै हुन् । त्यहाँ दुबई, इन्डिया, पाकिस्तानतिरका ग्राहक आउँछन् । मालाको कुरा अझै रमाइलो छ । कहिलेकाहीं के भइदिन्छ भने आफूलाई मनपराउने दुई जना ग्राहक एकैपटक आइदिन्छन् । अनि कसलाई हेर्दै नखरा गर्ने, आपत् नै पर्छ । एउटालाई कम हेरे उसले अर्कीलाई माला लगाइदिहाल्छ । तलब खास नभए पनि मालाले मालामाल बनाइदिन्छ । म सहितको नेपाली टोलीलाई राम्रै भएको हो । कसैलाई दुःख दिएको देखिएन । ताल्चा चाहिं ग्राहकसँग नजाउन्, असुरक्षित नहोउन् भनेर लगाएको भन्थे ।

(एक वर्ष तान्जानिया बसेर फर्केकी मोरङकी टीना लामा (परिवर्तित नाम) सँगको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस: दारेसलामका डान्सबार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>