समाचारशुक्रबार, भाद्र २८, २०७०
निर्वाचन निश्चित छैनः केसी
२८ भदौमा अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले वैद्य माओवादीलगायतका दलहरु अझै सहमतिमा आइनसकेकोले निर्वाचनको वातावरण बन्न नसकेको बताएका छन् ।
“मंसीर ४ मै चुनाव हुन्छ, हुँदैन मलाई पनि थाहा छैन”, केसीले भने, “तर हाम्रो पार्टी चुनावको पक्षमा छ,” । वैद्य माओवादीलाई निर्वाचनमा सहभागी गराउन सबैपक्षले दबाव सिर्जना गर्नु पर्नेमा उनले जोड दिए ।
कांग्रेस र एमाले एमाओवादी अध्यक्ष दाहालको पछि पछि लागेकाले पनि मुलुकमा राजनीतिक अस्थिरता रहेको केसीको ठहर छ । उनले वैद्य पक्षलाई निर्वाचनमा सहभागी नगराउने एमाओवादीको चाहनाले पनि सहमति हुन नसकेको दाबी गरे ।
आगामी निर्वाचनमा तालमेलको संभावना हुने भए राष्ट्रिय जनमोर्चाले एमालेसँग तालमेल गर्न सकिने भन्दै केसीले थपे, “तर अन्य पार्टीसँग पनि ढोका खुला रहने छ ।”
संघीयताकै कारण देशमा संविधान बन्न नसकेको भन्दै उनले अब संघीयता बिनाको संविधान निर्माण गर्नु पर्ने धारणा व्यक्त गरे । “हामीले संघीयताको विरोध गरिरहेका छौं”, उनले भने, “संघीयताले राज्यलाई बलियो बनाउने छैन, कुनै हालतमा पनि संघीयतामा जान हुँदैन ।”
प्रेमनारायण आचार्य, अर्घाखाँची
