समाचारशनिबार, भाद्र २९, २०७०
निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल
२९ भदौमा चितवनमा युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी निर्वाचन सार्ने पक्षमा देखिएको र त्यसो भएमा सम्पूर्ण सहमतिको बाधक एमाओवादी ठहरिने बताएका छन् ।
निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष खनालले त्यस्ता तमाम षडयन्त्रलाई नेकपा एमालेले चकनाचुर पारी निर्वाचन गराएरै छाड्ने दाबी गरे ।
आउँदो संविधानसभाको निर्वाचन सबैका लागि अवसर भएको बताउँदै अध्यक्ष खनालले भने “नेकपा–माओवादी र मोहन वैद्य दुवैका लागि पनि यो अवसर हो ।”
आउँदो संविधानसभाको निर्वाचनमा नेकपा एमाले एकसयभन्दा बढी निर्वाचन क्षेत्रमा विजय हासिल गरी पहिलो पार्टी हुने खनालको दाबी छ ।
भेलामा देशभरबाट युवासङ्घका ७७६ जना प्रतिनिधि र ३०० पर्यवेक्षक सहभागी छन् । भरतपुरमा उद्घाटनसत्र भएको छ भने रत्ननगरमा बन्दसत्र हुँदैछ ।
रासस
