समाचारशनिबार, भाद्र २९, २०७०
माओवादीलाई ४ मंसीरकै निर्वाचनमा भाग लिन आग्रह गरिने
नेकपा–माओवादीले २८ भदौमा आयोजित सर्वदलीय भेलामा निर्वाचन चैतमा सार्नुपर्ने, लगायतका प्रस्ताव गरेपछि त्यसबारेमा धारणा बनाउन २९ भदौ साँझ बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले माआवादीका दुई माग पूरा गर्न नसकिने निर्णय गरेको छ ।
समितिको कार्यालय नयाँबानेश्वरमा बसेको बैठकपछि एमाले नेता रघुजी पन्तले निर्वाचन सार्ने पक्षमा समिति नरहेको जानकारी दिए । सरकार परिवर्तन गर्दा पनि निर्वाचनको तयारीमा असर पर्ने भएकोले सरकार परिवर्तनको मागसमेत अस्वीकार गर्ने निर्णय भएको पन्तले बताए ।
३० भदौमा फेरि शीतल निवासमा हुने सर्वदलीय भेलामा समितिमा आवद्ध दलहरुले नेकपा–माओवादीलाई ४ मंसीरकै निर्वाचनमा सहभागी हुन आग्रह गर्ने भएका छन् ।
समितिले नेकपा–माओवादी निर्वाचनमा सहभागी हुने भए दल दर्ता र उम्मेदवारी मनोनयनका लागि समय दिन निर्वाचन आयोगसँग आग्रह गर्ने निर्णय गरेको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए । बैठकमा एमाओवादी र एमालेका शीर्ष नेताहरु भने सहभागी थिएनन् ।
राष्ट्रपति रामवरण यादवले २८ भदौमा बोलाएको बैठक कुनै निष्कर्षमा नपुगेपछि ३० भदौ दिउँसो १ बज्ने पुनः बस्ने निर्णय गरी टुंगिएको थियो ।

