समाचारशनिबार, भाद्र २९, २०७०
चुनाव कुनै शक्तिले रोक्न सक्दैनः अध्यक्ष रेग्मी
जिमी (राई) उत्थान समाज सोलुले डा स्वामी प्रपन्नाचार्य (काले राई) को सम्मानमा २८ भदौ दिउँसो आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले कसैले पनि ४ मंसीरका लागि निर्धारित निर्वाचन बिथोल्न चेष्टा गरे त्यो मुलुकका लागि दुर्भाग्य हुने बताएका छन् ।
उनले धर्तीको एक मुठी माटो छातीमा राखेर राष्ट्रियताका लागि कसम खानुपर्ने बेला आएको भन्दै राजनीतिक गतिरोधलाई निकास दिन ४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे ।
डा स्वामी प्रपन्नाचार्यले सनातन धर्ममा लागेर समाजलाई असल बाटोमा डो¥याएको भन्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष यसबहादुर राईले बताए ।
काठमाडौँको पशुपतिनाथस्थित मृगस्थलीमा बस्दै आएका प्रपन्नाचार्यले ३० वर्षको उमेरमा आफ्नो अध्ययन शुरुवात गरी वेदान्तमा विद्यावारिधि गरेका छन् ।
राई परिवारमा विसं १९७९ मा पाँचथरको लालीखर्कमा जन्मेका प्रपन्नाचार्यले संस्कृतिका विद्वान मानिन्छन् ।
उनका ‘वेदमा के छ’ ?, ‘किरातहरू मङ्गोलियाबाट आएका होइनन’, ‘मिल्केका झिल्के’, ‘काले राईका क्वाटी’ लगायतका दर्जनौँ कृति प्रकाशित छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले प्रपन्नाचार्यले सनातन धर्मका ज्ञाता रहेको चर्चा गरे ।
कार्यक्रममा डा चिन्तामणि योगी, प्राडा नोबलकिशोर राई, राष्ट्रिय गीतका रचयिता व्याकुल माइलाले प्रपन्नाचार्यले जीवनका विभिन्न क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
रासस
