थप समाचारआइतबार, भाद्र ३०, २०७०

दोलखामा बन्दको अवज्ञा, बनेपामा झडप

हिमालखबर

तस्वीर: शर्मिला बुढाथोकी/दोलखा

३० भदौमा माओवादीका नेता तथा कार्यकर्ताले चरिकोटमा बिहानैदेखि बजार बन्द गराउन आग्रह गरे पनि व्यापारीले अस्वीकार गर्दै बजार खुल्ला राखेका छन् । बजार बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय व्यापारी र बन्दकर्ताबीच बिहान झडप समेत भएको थियो ।

दुई पक्षबीच तनाव उत्पन्न भएपछि प्रहरीले नेकपा–माओवादीका जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ । दोलखाका जिरी, मैनापोखरी, सिँगटीलगायतका मुख्य बजारसमेत खुलेका छन् । बजार खुले पनि सवारी साधन भने चलेका छैनन् ।

बनेपामा पनि झडप

यसैगरी बन्दका क्रममा ३३ दलीय मोर्चा र प्रहरीबीच बनेपामा झडप भएको छ ।

स्थानीय अरनिको टेलिभिजनमा कार्यरत देवराम केसीमाथि आन्दोलनकारीले आक्रमण गरेपछि आक्रोशित बनेका स्थानीय बासिन्दा बन्दको अवज्ञा गर्दै सडकमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले नेकपा–माओवादीका केन्द्रीय सदस्य चुडामणि गौतम, नेकपा एकीकृतका केन्द्रीय सदस्य कान्छाराम तामाङलगायत केही प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

मोर्चाले मध्य पहाडका १० जिल्ला र पूर्वी तराईका ८ जिल्लामा बन्दको आह्वान गरेको छ । बन्दले चितवन, मकवानपुर, धादिङ, सिन्धुली, रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिरहा, सप्तरीलगायतका जिल्लाको यातायात प्रभावित भएको छ ।

चितवन बन्दका कारणले पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>