थप समाचारआइतबार, भाद्र ३०, २०७०
सिरियाका रासायनिक हतियार नष्ट गर्ने सम्झौता
अमेरिकी विदेश मन्त्री जोन केरीले प्रस्तुत गरेको ६ सूत्रीय योजनामा भएको सम्झौतामा सिरियाले एक हप्ताभित्र आफ्ना सबै रासायनिक हतियारहरुको सूची पेश गर्नुपर्ने छ ।
सहमतिमा सिरियाले आनाकानी गरेमा संयुक्त राष्ट्र संघले बलपूर्वक हतियार नष्ट गर्ने जस्का लागि सैन्य कार्वाहीको विकल्प समेत राखिएको छ ।
अमरीकाले केही दिनअघि सिरियाली सरकारले राजधानी दमाश्कसमा विद्रोहीहरुमाथि रासायनिक हतियारले आक्रमण गरेको आरोप लगाउँदै आएको छ भने बशर अल असद नेतृत्वको सरकारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।
जेनेभामा आयोजना गरिएको संयुक्त प्रेस सम्मेलनमा रूसी विदेश मन्त्री सर्गेई लावरोव र अमेरिकी विदेश मन्त्री जोन केरीले दुई देशबीच भएको सहमतिले आसन्न संकट टरेको बताएका छन् । सम्झौताको सिरियाली सरकारले पनि स्वागत गरेको छ ।
यता सिरियाली आन्दोलनकारीहरुका तर्फबाट जनरल सलीम इदरिसले रूस र अमेरिकाबीच भएको सहमतिलाई खारेज गरेका छन् ।
टर्कीमा भएको प्रेस सम्मेलनमा इदरिसले यो सम्झौताले सिरियाको संकट समाधान नहुने भन्दै विपक्षले आफ्नो आन्दोलन जारी राख्ने बताएका छन् ।
गत महिना दमाश्कसमा सिरियाली सरकारले गरेको रासायनिक हतियार आक्रमणबाट १४२९ ब्यक्तिको ज्यान गएको र त्यसमध्ये अधिकांश बालबालिका रहेको अमेरिकाले दाबी गरेको छ ।
निरन्तरको द्वन्द्वले २० लाखभन्दा बढी सिरियाली नागरिकहरु छिमेकी मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् ।
एजेन्सीहरु

