समाचारआइतबार, भाद्र ३०, २०७०
माओवादीले यात्रुबाहक बसमा आगो लगाए
काठमाण्डौंबाट मेलम्चीतर्फ जाँदै गरेको बा १ ख ५६७२ नं को यात्रुबहाक बसमा नेकपा–माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । बसमा शुरुमा ढुंगा प्रहार भएपछि भित्र रहेका यात्रुहरु हामफालेर भागेका थिए । त्यस लगत्तै बन्दकर्ताले आगो लगाएको बस पुर्णरुपमा ध्वस्त भएको छ ।
पत्रकारमाथि आक्रमण
त्यस्तै बन्दकर्ताहरुले मोटरसाइकल चलाएको भन्दै स्थानीय सञ्जीवनीपत्र साप्ताहिकका पत्रकार देवराज केसीलाई कुटपिट गर्नुका साथै उनको मोटरसाइकल समेत तोडफोड गरेका छन् । पत्रकार केसीको देब्रे आँखामा चोट लागेको छ ।
पत्रकारमाथि आक्रमण भएलगत्तै स्थानीय बासिन्दा बन्दको प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका स्थानीयलाई प्रहार गर्न नेकपा(माओवादीका कार्यकर्ता लाठी र रड लिएर जाइलागेपछि प्रहरीले उनीहरुलाई लखेटेको छ।
केन्द्रीय सदस्य पक्राउ
ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक आश्विनकुमार गिरीका अनुसार माओवादीका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इञ्चार्ज चुडामणि गौतम हेमक र नेकपा एकीकृतका केन्द्रीय सदस्य कान्छाराम तामाङसहित ११ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्द गर्ने र प्रतिकार गर्ने दुवैपक्ष उत्तेजनामा रहेकाले अझै झडपको सम्भावना छ ।
नगेन्द्र अधिकारी, काभ्रे

