थप समाचारसोमबार, भाद्र ३१, २०७०
अर्कैसँग विहे गरेपछि युवती र उनका सहयोगीको हत्या
उत्तरपश्चिमी पाकिस्तानको दारा आदामखेल जिल्लाकी २२ वर्षीया युवतीले अर्कै केटासँग फेरि विवाह गरेपछि, उनकी काकी र बहिनीको समेत हत्या भएको छ । अर्को विवाहका लागि सहयोग गरेको भन्दै काकी र नातामा बहिनी पर्ने अर्की युवतीको समेत परिवारबाटै हत्या भएको हो ।
३० भदौमा परिवारका पुरुष सदस्यले २२ वर्षीया ती युवती र उनलाई सघाउने तीनजनालाई गोली हानेर ३१ भदौमा गाडेको स्थानीयले बताएका छन् भने पाकिस्तानको सुरक्षा निकायले हत्याको पुष्टि गरेको छ ।
यसरी महिलामाथिको कथित अनुशासनका विरुद्धमा कारबाही गर्ने ती गाउँहरूमा ‘जिर्गा’ नामको एक गाउँ परिषद् छ । जिर्गाकै सहयोग र उक्साईमा युवती र उनका सहयोगी भनिएकाहरुको हत्या भएको हो ।
३० भदौमा बसेको जिर्गाको बैठकले ती महिलाले इस्लाम धर्म विरोधी काम गरेकाले उनीहरूको हत्या हुनुपर्ने निर्णय गरेको थियो । यस्तो परिषद्को निर्णयलाई कुनैपनि अदालतले प्रश्न उठाउन नसक्ने उनीहरूको तर्क छ । पाकिस्तानको राष्ट्रिय मानवअधिकार आयोगको तथ्याङ्कअनुसार सन् २०११ मा मात्र यसरी परिषद्को अगुवाईमा करिब एक हजार महिला तथा बालिकाको हत्या भएको छ ।
लैंगिक विभेद वा कथित पारिवारिक–सामाजिक इज्जतका नाममा हुने यस्तो हत्यालाई अंग्रेजीमा ‘अनर किलिंग’ भनिन्छ । हरेक गाउँमा हुने यस्ता परिषद्ले महिला र बालिकाले परिवारको इज्जत जाने काम गरेकोले हत्या गर्नुपरेको बताउने गर्दछ ।
एएफपी
