समाचारमंगलबार, आश्विन १, २०७०
उम्मेदवार कब्जामा लिने गजुरेलको धम्की
माओवादी उपाध्यक्ष सीपी गजुरेलले आफूहरुलाई ‘बाईपास’ गरेर गरिने संविधानसभाको निर्वाचनमा उमेदवारी दिन खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न नदिने धम्की दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले १ असोजमा आयोजना गरेको साक्षात्कारमा गजुरेलले भने, “मनोनयन दर्ता गर्न नदिएपछि निर्वाचन नै हुँदैन । हामि मनोनयन दर्ता गर्न खोज्नेहरुलाई नियन्त्रणमा लिन्छौं, मनोनयनको समय सकिएपछि फुलमाला लगाएर सम्मानपूर्वक विदाई गर्छौ ।”
उम्मेदवारलाई नियन्त्रणमा लिने बताएका गजुरेलले आफूहरुको बहिस्कार आन्दोलन भने शान्तिपूर्ण हुनेसमेत भन्न भ्याए । उनले निर्वाचनमा भाग लिने वा नलिने भन्ने राजनीतिक लडाइँमा सेना परिचालन गर्न पाइँदैन भन्दै मुलुकलाई सिक्किमीकरण गर्न निर्वाचन गराउन थालिएको आरोप समेत लगाए ।
चार दलले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गर्न आग्रह गर्दा उनले बरु मन्त्रिपरिषदबाट राजीनामा गर्ने तर, प्रधानन्यायाधीशबाट राजीनामा नगर्ने बताएको भन्दै गजुरेलले अहिलेको सरकार आफूखुशी चलेको बताए ।
गोलमेच गर्ने सहमति भएको भोलीपल्ट भारतीय राजदूत जयन्तप्रसादले भोज खुवाएर गोलमेच तुहाएको र सहमति हुनै लागेका बेला भारतीय विदेश सचिव सुजथा सिंह आएर सहमतिको सम्भावना टरेको दाबी गर्दै उनले चार दललाई भारतले सञ्चालन गरिरहेको आरोप लगाएका थिए ।
