समाचारबिहीबार, आश्विन ३, २०७०
उमा सिंह हत्याका प्रमुख अभियुक्त सार्वजनिक
पत्रकार उमा सिंहको हत्याका प्रमुख अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई धनुषाका प्रहरी उपरिक्षक गोविन्द पुरी नेतृत्वको टोलीले कैलालीको भारतीय सीमाक्षेत्र गौरीफन्टा जाँदै गरेको अवस्थामा पक्राउ गरी जनकपुर ल्याएको छ ।
जनकपुरमा पत्रकारिता गर्ने सिरहाकी उमा सिंहको २७ पुस २०६५ मा रजौलस्थित डेरामा बसेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएकोे थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा ३ असोजमा पत्रकार सम्मेलन गरी धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले पत्रकार सिंह हत्याका प्रमुख अभियुक्त धनुषाको बालासघारा १ बस्ने ३५ वर्षीय उमेश यादवलाई कैलालीबाट पक्राउ गरिएको बताए ।
यादवमाथि धनुषा भरतपुर–६ का २५ वर्षीय रमेश दाहाल र लक्ष्मीकान्त राय तथा धनुषाकै रमदैया–३ का ४५ वर्षीय किशोरी यादवलाई ट्रकसहित अपहरण गरी हत्या गरेको आरोप समेत लागेको छ ।
धनुषाका यादव कैलालीको धनगढीमा परिवारसहित बस्दै आएको र त्यहींबाट आपराधिक गतिविधि सञ्चालन गर्दै आएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
उमा सिंह हत्याका अन्य अभियुक्तहरुमध्ये उनकै भाउजु ललिता सिंह र नेमलाल पासवान जलेश्वर कारागारमा सजाय भोगिरहेका छन् ।
इश्वरचन्द्र झा, जनकपुर

