समाचारबिहीबार, आश्विन ३, २०७०
बर्दिया घटनाबारे परराष्ट्रले दूतावासलाई सोध्यो
परराष्ट्रमन्त्रालयले ३ असोजमा एक विज्ञप्ति जारी गरी बर्दिया घटनाको छानबिनका साथै त्यस्ता गतिविधि भविष्यमा नदोहोरिने सुनिश्चितता गर्न भारत सरकारको ध्यानाकर्षण गराएको जानकारी गराएको छ ।
जवाफमा भारतीय पक्षले उक्त घटनाको अनुसन्धान गर्ने र त्यो सत्य भए सम्बद्ध अधिकारीलाई कारबाही गर्ने दृढता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै भविष्यमा त्यस्ता घटनाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
गृहको छानबिन समिति गठन
बर्दिया, गुलरिया–८ स्थित मञ्जुरकुमार श्रेष्ठको घरमा भारतीय प्रहरीले खानतलासी गरेको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव चूडामणि शर्माको संयोकजत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिका सदस्यहरूमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक केदार साउद र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनाल रहेको गृह मन्त्रालयले जनाएको छ ।
——————————————————————————————————————————————————-
बर्दिया घटनाको अनुसन्धान हुँदैछः भारतीय दूतावास
बर्दिया, गुलरियास्थित मन्जुरकुमार श्रेष्ठको घरमा भारतीय प्रहरीले २ असोज बिहान छापा मारेको घटनाका बारेमा अनुसन्धान भइरहेको भारतीय दूतावासले जनाएको छ ।
नेपालस्थित भारतीय दुतावासले ३ असोजमा बिज्ञप्ति जारी गर्दे नेपाली भूमीमा भारतीय प्रहरीले छापा मारेको भन्ने बारेमा मिडियाले सोधपुछ गरी जानकारी मागेको भन्दै त्यसो गर्ने भारतीय मनसाय नभएको बताएको छ ।
बिज्ञप्तीमा भनिएको छ, “घटनाबारे अनुसन्धान भइरहेको छ । हामी यस्तो घटनालाई माफ गर्दैनौ र यदि सत्य ठहरिएमा कार्वाही गरिनेछ ।”
२ असोजमा भारतको उत्तरप्रदेशका पोशाक र हतियारसहितका प्रहरीले वर्दिया गुलरियाका मञ्जुर कुमार श्रेष्ठको घरमा छापा मारेका थिए । छापा मार्ने क्रममा भारतीय अपराधी उनको घरमा लुकेको भन्दै श्रेष्ठको घरमा रहेका सामानहरु अस्तव्यस्त पारेको र दुव्र्यवहार समेत भएको छिमेकीहरुले बताएका छन् ।
स्थानीयले उक्त घटनाको तिव्र विरोध गर्न थालेपछि नेपाल प्रहरीले भारतीय प्रहरीलाई स्कर्टिङ्ग गरी सीमा पार गराएको थियो ।

