समाचारशुक्रबार, आश्विन ४, २०७०
कपडा व्यापारीलाई कार्वाही गर्दा नारायणगढ बजार बन्द
नारायणगढ शहीद चोकको लक्ष्मीनारायण बस्त्रालयले चार करोड ५८ लाख आठ हजार ८२३ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छलेको ठहर गर्दै विभागले असुल्न निर्देशन दिएको छ।
विभागको निर्णय चित्त नबुझे कानूनी उपचारको बाटो हुँदाहुँदै पनि संघ आन्दोलनमा उत्रेको हो। राजश्व विभागले कारबाहीको निर्णय फिर्ता नलिए थप आन्दोलन चर्काउने संघले चेतावनी दिएको छ।
पसल सञ्चालकलाई विभागले १५ दिनभित्र जरिवाना तिर्न निर्देशन दिएको छ। विभागको सो निर्णय विरुद्ध कानूनी उपचार खोज्न अझै एक महिनाभन्दा बढी म्याद बाँकी छ ।
यता उद्योग वाणिज्य संघ नरायणगढले भने ४ असोजको बन्द सांकेतिक मात्रै भएको र ६ असोजमा सर्वपक्षीय बैठक बसेर थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।
लक्ष्मीनारायण वस्त्रालयले ऋणका लागि बैंकमा पेश गरेकोे विवरण र आन्तरिक राजश्व कार्यालयमा बुझाएको विवरण फरक परेपछि बैंकमा पेश गरेको विवरणलाई आधार मानेर राजश्व कार्यालयले कार्वाही थालेको हो । ऋण पाउनका लागि बैंकमा बुझाएको विवरणका आधारमा राजश्व छलेको भन्दै कार्वाहीमा उत्रनु न्यायसंगत नहुने उद्योग वाणिज्य संघको तर्क छ।
एक वर्षअघि जेठमा राजश्व अनुसन्धान विभागले बस्त्रालयमा छापामार्दा व्यवसायीले प्रतिकार गरेका थिए। त्यसबेला व्यवसायीहरुले अनुसन्धान टोली चढेर आएको सरकारी जीप समेत जलाएका थिए।
सोही घटनाको प्रतिशोध राखेर विभागले अन्यायपूर्ण तरिकाले कर निर्धारण गरेको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष डा।तिलचन्द्र भट्टराईको दाबी छ ।
