समाचारशुक्रबार, आश्विन ४, २०७०
मोर्चालाई निर्वाचनमा आउन सरकारको आग्रह
४ असोजमा बसेको मन्त्रीपरिषद बैठकले निर्वाचनबाट नै मुलुकका समस्याको समाधान हुने भएकाले ४ मंसीरका लागि निर्धारित निर्वाचनमा भाग लिन ३३ दलीय मोर्चालाई आग्रह गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले निर्वाचनबाटै मुलुकका सबै समस्याको हल हुने र नेपाली जनताको अपेक्षा अनुसारको दीगो संविधान निर्माणको ढोका खोलिने भएकाले निर्वाचनको अवसरलाई सदुपयोग गर्न दलहरुलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेकोसमेत जानकारी दिए ।
निर्धारित मितिमै निर्वाचनः रेग्मी
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि निर्धारित मितिमा नै निर्वाचन गरिने बताएका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा ४ असोजमा शान्ति तथा पुननिर्माण मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बढ्दो संक्रमणकाललाई अन्त्य गर्नका लागि ४ मंसीरमा हुने संविधानसभाको निर्वाचनमा भाग लिन सबै दलहरुलाई आग्रह गरेका छन् । उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका मानवअधिकार सम्बन्धी आवासीय प्रतिनिधि जेमी म्याकगोल्ड्रिकले नेपालको शान्ति स्थापनाका लागि राष्ट्रसंघले सहयात्री भएर काम गरेको भन्दै शान्ति प्रक्रिया अँझै पूरा नभएको बताएका थिए ।
