समाचारशुक्रबार, आश्विन ४, २०७०

राजदूत मायाकुमारीलाई फिर्ता बोलाइने

हिमालखबर

नेपालका लागि कतारका राजदूत अहमद जासेम अल हमरले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलाई विवादास्पद छवी भएकी राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन लिखित आग्रह गरेपछि उनको नियुक्तिको सिफारिस गर्ने एमाओवादीले पनि फिर्ता बोलाउन सहमति दिएको छ ।

बाबुराम भट्टराई सरकारले एमाओवादी कोटामा नियुक्त गरेकी राजदूत शर्माको कार्यले नेपालको वदनाम भएको भन्दै कतारस्थित नेपाली समूदायले फिर्ताको लागि सरकारलाई दबाब दिंदै आएको थियो । पछिल्लो समयमा कतारी राजदूतले समेत दुई देशको सम्बन्धमा असर पर्न नदिन भन्दै लिखित आग्रह गरेपछि सरकार र एमाओवादी नेतृत्व शर्मालाई फिर्ता बोलाउन दबाबमा परेको हो ।

एमाओवादी केन्द्रीय कार्यालयको ४ असोजमा बसेको बैठकले शर्मालाई फिर्ता बोलाउन सरकारलाई लिखित सहमति दिएको छ । यो सहमतिसँगै शर्मालाई सरकारले फिर्ता बोलाउने भएको छ ।

समस्यामा परेका नेपालीलाई राख्ने आवासगृह बन्द गराउने, बीबीसीसँगको अन्तर्वार्तामा ‘कतार खुला जेल हो’ भन्ने अभिव्यक्ति दिने, उनीविरुद्ध सामान्य टिप्पणी गरेका नेपाली नागरिकलाई कतारबाट फिर्ता पठाउन कतारी सरकारलाई आग्रह गर्नेे, नेपाली श्रमिकहरुका समस्यालाई बेवास्ता गर्ने लगायतका कार्य गरेकी शर्मालाई फिर्ता बोलाउन सरकारलाई चौतर्फी दबाब परे पनि एमाओवादीले स्वीकृति नजनाउँदासम्म सरकारले फिर्ता बोलाउन सकेको थिएन ।

कृषि विकास बैंक चितवनकी शाखा अधिकृत मायाकुमारीलाई एमाओवादीले कतारका लागि नेपाली राजदूत बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>