थप समाचारशुक्रबार, आश्विन ४, २०७०
ढुसी उम्रेको खाल्डोमा सुत्छन कावासोतीका प्रहरी (तस्वीरसहित)
विद्रोही गिरी, नवलपरासी

ईलाका प्रहरी कार्यालय कावासोतीमा प्रहरी भवनमा पयाप्त कोठा नहुँदा चुहिने छाप्रोमा प्रहरीले रात विताउने गरेका छन् ।
नवलपरासी, कावासोती इलाका प्रहरी कार्यालयका सई राजकुमार श्रेष्ठ र असई समर गुरुङ्ग सशस्त्र हिंसाका बेला सेनाले बनाएको बंकरभित्र बस्ने गरेका छन् । जमिन मुनीको खाल्डोका भित्ताहरुमा ढुसी पलाएको छ, भित्र पस्दा गन्हाउँछ ।
२०३० सालमा स्थानीयको सक्रियतामा बनेको एकतले प्रहरी भवनका ६ कोठामध्ये एकएक वटा थुनुवा, सञ्चार, मुद्दा, लेखा, डिएसपीले ओगटेका छन् भने अर्को चोटा ड्युटीका लागि प्रयोग हुने गरेको छ ।
कार्यारत ६५ जना प्रहरीमध्ये कार्यालयसँगैको सानो छाप्रोमा ३० प्रहरी सुत्दछन् भने बाँकी ३२ जना खरको टहरोमा आराम फर्माउँछन् । टहरोको जमिनै छुने खरको छानो देख्दा ठुलो स्याखु (घुम ) ओढेर खेताला बसे जस्तो देखिन्छ । अरुको सुरक्षाका लागि खटिने प्रहरीको आबास आफैं असुरक्षित छ ।
बिषालु सर्पको बिगबिगी हुने कावासोतीमा यसरी सुत्दा मस्त निदाउन नसकिएको एक प्रहरी जवान बताउँछन् । न ढोका छ, न गतिलो छानो, भएका खाट जति लहरै राखिएको छ । “धेरै भयो राम्रोसँग ननिदाएको विदामा घर नजाँदासम्म सुत्न पाइँदैन,” एक प्रहरी जवानले भने ।
प्रहरी नायव उपरिक्षक बिमल बस्नेत भन्छन, “सबैलाई कार्यालयभित्र राख्दा बस्ने ठाउँ छैन, आफ्नै समस्यामा रुमल्लिन परेको छ ।” भएको एउटा कार्यालय भवन पनि मर्मत नहुँदा ढलान चर्केर खिया लागेका रडहरु छरपस्ट भएका छन् ।
सशस्त्र हिंसाका बेला माओवादीले ध्वस्त पारेका प्रहरी चौकीको पुनःनिर्माण गरिए पनि यो चौकीमा त्यस्तो केही नभएकोले नयाँ भवन बन्न नसकेको स्थानीयको भनाई छ ।


