समाचारशनिबार, आश्विन ५, २०७०
प्रमुख दलहरु आत्मसमर्पणवादीः कमल थापा
५ असोजमा पोखरामा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको नालायाकीले मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै उनीहरुकै कारण राष्ट्रियता धरापमा परेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बर्दियामा भारतीय प्रहरीले छापा मार्नु ठाडो विदेशी हस्तक्षेप भएको भन्दै थपे, “नेपालमा आन्दोलन गर्न, चुनाव लड्न, सरकार बनाउन र गिराउन विदेशीको सहयोग, आशिर्वाद मात्र नभई दलहरुले पैसा समेत लिने गरेका छन् ।” उनले विगत केही बर्षयता प्रमुख दलहरुको आत्मसमर्पणवादी रवैयाले विदेशी हस्तक्षेप बढेको समेत दाबी गरे ।
थापाले आगामी संविधान सभा चुनावमा राष्ट्रियता प्रमुख मुद्दा बन्ने र निर्वाचनमा राष्ट्रियताको संरक्षण र आत्मसमर्पणवादीहरुबीच प्रतिष्पर्धा हुने बताए ।
थापाले राजादेखि माओवादीसम्म अटाउन सक्ने नयाँ प्रजातान्त्रिक मोडेलसहितको एजेण्ड लिएर राप्रपा नेपाल चुनावमा जाने आफ्नो पुरानो भनाई दोहोर्याएका थिए ।
माधव बराल, पोखरा
