समाचारशनिबार, आश्विन ५, २०७०
दमिनी भीरलाई मदन पुरस्कार
गत वर्ष नेपाली भाषामा प्रकाशित विभिन्न कृतिको अध्ययन र विश्लेषणपछि ५ असोजमा बसेको मदन पुरस्कार गुठीको बैठकले ‘दमिनी भीर’ उपन्यासका लागि राजन मुकारुङलाई मदन पुरस्कार दिने निर्णय गरेको छ ।
त्यस्तै गुठीका अध्यक्ष कमलमणि दीक्षितको अध्यक्षतामा बसेको बैठकले पाँच दशकदेखि निरन्तर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेका साहित्यकार रत्नशम्शेर थापालाई २०६९ को जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको सदस्य सचिव कुन्द दीक्षित जानकारी दिए ।
विसं २०१३ देखि हरेक वर्ष दिइँदै आएका दुवै पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ । दशैं अगाडि उपयुक्त समयमा औपचारिक समारोह आयोजना गरी पुरस्कार वितरण गरिने सदस्य सचिव दीक्षितले बताएका छन् ।
दमिनी भीरले सीमान्तकृत समुदायको जनजीवनलाई उपन्यासमार्फत उत्कृष्ट ढंगबाट उजागर गरेको गुठीको भनाई छ । यसअघि मुकारुङको उपन्यास हेत्छाकुप्पा पनि निकै चर्चामा थियो ।
मदन पुरस्कारलाई नेपालको साहित्यिक क्षेत्रमा प्रदान गरिने सबैभन्दा सम्मानित पुरस्कार मानिन्छ ।

