समाचारआइतबार, आश्विन ६, २०७०

गोइत समूहका सैन्य कमाण्डर र पोलिटब्यूरो सदस्य पक्राउ

हिमालखबर

वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको नेतृत्वको टोलीले ५ असोज राति पर्साको सुख्खा बन्दरगाह इलाकाबाट गोइत समूहका सैन्य कमाण्डर पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साका लिपनीबिर्ता–८ बस्ने पटेल विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको खनालले जानकारी दिए । खनालका अनुसार तत्कालीन पर्सा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत मोहन मैनालीको हत्या पनि आफैंले गरेको पटेलले स्वीकार गरेका छन् । विसं २०६५ असोज ३ गते वीरगञ्जको रानिघाटमा मैनालीको हत्या भएको थियो । मैनालीको हत्यामा संलग्न अर्का अपराधी शशीभूषण तिवारी हाल वीरगन्ज कारगारमा छन् ।

पटेलले २०६४ भदौ ७ गते पर्साको महुवन–३ निवासी फूलचन्द्र साह कानुको पनि हत्या गरेको स्वीकारेको अञ्चल प्रहरी कार्यालय वीरगन्जले जानकारी दिएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला प्रहरी कार्यालय पर्सालाई जिम्मा लगाइसकिएको छ ।

पोलिटब्युरो सदस्य पनि पक्राउ

प्रहरीले धनुषालगायत अन्य जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न रहेका ‘पृथ्वी सिंह’ भन्ने श्याम यादवलाई पक्राउ गरेको छ ।

यादवमाथि युथ फोर्स जनकपुरका इन्चार्ज माथवर मुखियाको हत्याको अभियोग  छ । २३ साउन, २०६८ मा मुखियालाई गोली हानि हत्या गरिएको थियो । त्यसै गरी यादवले २०६६ सालमा जनकपुर–जयनगर रेल सेवामा सिलिण्डर बम विष्फोट गराएको, जनकपुर रेलमा सिलिन्डर बम विस्फोट गराएको र सरोज कोइराला रेल्वे स्टेसनमा बम विस्फोट गराएको अभियोगमा मुद्दा छ ।

त्यस्तै उनीमाथि मालपोत कार्यालय महोत्तरीमा बम विस्फोट गराई भवन क्षतिग्रस्त बनाएको, कार्यालय प्रमुख, उद्योगी, व्यापारी, इन्जिनियर, चिकित्सक लगायतसँग चन्दा असुली गरिरहेको आरोप छ ।

५ असोजमा भारतीय सीमाभन्दा दुईकिलोमिटरभित्र धनुषाको नगराईनमा बीआर ३० सी ०१६१ नम्बरको मोटरसाईकल चढेर आईरहदा यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जनाएका छन् ।

बिम्मी शर्मा, वीरगञ्ज

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>