समाचारशनिबार, आश्विन १२, २०७०
पाँच बालबालिकाको डुबेर मृत्यु
शुक्रबार साँझ रायपुर– ३ सोनवर्षा गाउँको तलाउमा कमलको फूल जस्तै देखिने फल टिप्ने क्रममा पाँच बालबालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक दीपक न्यौपानेले बताएका छन् ।
मृतकमध्ये १४ वर्षीया चन्दा गडरिया पाल, १२ वर्षीया रीना गडरिया पाल र १० वर्षीय राकेश गडरिया पाल एकै घरका दिदीभाइ हुन् । त्यसैगरी सोही गाउँका नौ वर्षीय सिला नाउ र उपेन्द्र बढईको पनि मृत्यु भएको छ ।
प्रहरीका अनुसार तलाउ वरपर त्यति गहिरो नभए पनि बीचभागमा मानिसले नै खनेको खाल्डोमा परी डुबेर मृत्यु भएको हो ।
सिंगडा टिप्न आठ बालबालिका तलाउमा गएकोमा पाँचजना लगातार डुबेपछि तीन बालबालिका फर्केर गाउँमा आएका थिए । घटनास्थल सदरमुकाम भैरहवाबाट करिब २२ किमि पश्चिम दक्षिणमा पर्छ ।
रासस
