समाचारशनिबार, आश्विन १२, २०७०
निर्वाचन तयारीसँगै मिति सार्ने वार्ता
नेकपा–माओवादी नेतृत्वको मोर्चासँग प्रमुख दलका नेताहरुले निर्वाचन मिति सार्ने सम्बन्धमा वार्ता गरिरहेका छन् । यो वार्ताका लागि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले पहल गरिरहेका छन् भने वार्तामा शीर्ष तहका नेताहरु सहभागी छैनन् ।
११ असोज राति एमाओवादी नेता श्रेष्ठको हरिसिद्धिस्थित निवासमा भएको वार्तामा एमाओवादीका श्रेष्ठ, नेपाली कांग्रेसका प्रदीप गिरी, एमालेका प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट तथा मोर्चाको तर्फबाट मणि थापा, पासाङ शेर्पा, प्रकाश अधिकारी र खगेन्द्र माखिम सहभागी थिए ।
श्रेष्ठले वार्तामा केही प्रगति भएको र एक पटक अझै शीर्ष तहमा वार्ता हुने बताएका छन् । वैद्य पक्षलाई छोडेर जान नहुने भएकोले सहमतिका लागि पहल भैरहेको उनले बताएका छन् । उनले निर्वाचन मिति सार्नु पर्ने र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने नेकपा–माओवादीको माग संबोधन गर्न सकिने किसिमका भएको पनि दाबी गरेका छन् ।
संविधानसभाको निर्वाचनमा एउटा ठूलै समूहलाई छोडेर अगाडि बढ्दा मुलुकमा द्वन्द्व बढ्ने भएकाले शीर्ष नेताहरुको सहमति लिएरै वार्ता गरेको नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय बताउँछन् ।
बैठकमा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले वार्तामा भएका प्रगतीबारे शीर्ष नेताहरुसँग छलफल गरी निर्णय लिइने बताएका छन् । मोर्चाका सदस्य मणि थापा सबै पार्टीका नेताहरुबीच कुराकानी भएको र ४ चैतसम्मका लागि निर्वाचन सार्नेमा आफू आशावादी रहेको बताएका छन् ।
राष्ट्रपतिसँग श्रेष्ठको भेट
१२ असोज मै नेता श्रेष्ठले राष्ट्रपति रामवरण यादवसँग भेट गरेका छन् । भेटमा श्रेष्ठले वार्ताबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
खासगरी नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन आफूले गरेको प्रयासका बारेमा राष्ट्रपतिलाई विस्तृतरुपमा जानकारी गराएको उनले बताए ।
भेटका अवसरमा राष्ट्रपति यादवले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्ने भनाइ राखेको पनि श्रेष्ठले जानकारी दिए ।
दाहाल र वैद्यबीच भेट
यसैबीच १२ असोज साँझ एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
बुद्धनगरस्थित एक घरमा भएको सो भेटवार्तामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङ सहभागी थिए ।
भेटमा ४ मंसीरका लागि निर्धारित संविधानसभाको निर्वाचन र वर्तमान राजनीतिक निकासका बारे छलफल भएको बुझिएको छ ।
तर, प्रमुख दलका नेताहरुले नेकपा–माओवादीले मिति सार्ने बहानामा निर्वाचन नै हुन नदिने षडयन्त्र गरेको बताइरहेका बेला यो वार्ता फलदायी हुनेमा चाहीं धेरैले शंका ब्यक्त गरेका छन् ।
