थप समाचारसोमबार, आश्विन १४, २०७०
लालु यादव भ्रष्टाचारी ठहर, जेल चलान
बिहारको चर्चित ‘चारा घोटाला’ काण्डमा पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई भारतको सिबिआई विशेष अदालतले दोषि ठहर गरेको छ । लालुसँगै अन्य ४४ अभियुक्त समेत दोषि ठहर भएका छन् । उनीहरु सबैलाई सजाय भने १७ असोजमा सुनाइने छ ।
टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार सीबीआईका वकिलले लालु यादव र विहारकै अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रलाई चारदेखि सात वर्षसम्मको कैद सजाय हुने सम्भावना रहेको बताएका छन् । राँचीस्थित सीबीआई अदालतले १४ असोजमा फैसला सुनाएको हो । १७ गते हुने सजाय यादवले जेलमै बसेर भिडियो कन्फ्रेन्सिङबाट सुन्नु पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा दुई वर्ष वा बढीको कैद सजाय पाएकाले संसद र विधायक बन्न नपाउने त्यहाँको सर्वोच्च अदालतले भर्खरै फैसला सुनाएका बेला लालुप्रसाद यादवले कैद सजाएपछि उनको राजनीति पनि संकटमा पर्नेछ ।
चाइबासा ट्रेजरीबाट अवैध रुपमा ३७.७० करोड रुपैयाँ निकालेको अभियोगमा यादवसहितका व्यक्तिविरुद्ध सन् १९९६ मा मुद्दा दर्ता भएको करिब १७ वर्षपछि यस मुद्दाको फैसला भएको छ ।
