समाचारसोमबार, आश्विन १४, २०७०
रुकुममा माओवादीको चन्दा आतंक
नेकपा–माओवादीले चन्दा सहयोगका नाममा रकम तोकेरै माग गर्न थालेपछि रुकुमका ब्यवसायी र कर्मचारीहरु आतंकित बनेका छन् । बिशेषगरी जिल्ला सदरमुकामस्थित सरकारी कर्मचारी, संघसंस्था र उद्योगी व्यवसायीसँग चुनाव बहिस्कारका लागि भन्दै माओवादीले चन्दा मागसहितको पत्र पठाएको छ ।
पत्रमा पहिलो चरण भन्दै न्युनतम २० हजारदेखि अधिकतम दुई लाखसम्म रकम माग गरिएको छ । यसरी चन्दा मागिने माओवादीको सूचीमा सरकारी, गैरसरकारी कार्यालय, उद्योगी व्यापारी, ठेकेदार र विभिन्न व्यक्ति गरी पाँच सय जना छन् ।
माओवादीका जिल्ला सेक्रेटरी मनकामनाको हस्ताक्षर भएको चन्दा पत्रबाट आत्तिएका केही व्यक्तिले प्रमुख जिल्ला अधिकारीलाई यसबारे जानकारी गराएका छन् । आफूलाई चन्दासम्बन्धी खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भइरहेकोे प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
लक्ष्मण केसी, रुकुम

