समाचारसोमबार, आश्विन १४, २०७०
समानुपातिकमा भाग लिन १२४ दलको निवेदन
४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १३० दल दर्ता भए पनि समानुपातिक निर्वाचनमा भाग लिन दल दर्ता गराउने राजनीतिक दल १२४ मात्रै भएका छन् ।
१४ असोजमा समानुपातिक निर्वाचनमा भाग लिन आवेदन दिएका दलहरूको नामावली १५ असोजमा प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता वीरवहादुर राईले जानकारी दिए ।
त्यस्तै नाम फिर्ता लिन चाहने दलहरुले भोलिनै नाम फिर्ता लिन पनि सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार दलहरुको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने काम १७ गते हुनेछ भने दलहरूले उम्मेदवारको नाम बन्दसूचीमार्फत आयोगमा १८ गते पेस गर्नुपर्ने छ ।
निवेदनका साथ आयोगले राजनीतिक दलहरूसँग रु १० हजार धरौटी लिएको थियो ।
यसैबीच प्रवक्ता राईले निर्वाचनको प्राविधिक काम लगभग पूरा भएको जानकारी दिएका छन् । उनले सञ्चारकर्मीहरूसँग भने, “निर्वाचनको मिति सार्ने काम आयोगको होइन, यसतर्फ आयोग सोच्न पनि सक्दैन ।”
