समाचारमंगलबार, आश्विन १५, २०७०
रेग्मीविरुद्धको रिटको सुनुवाई अब दशैंपछि
१५ असोजमा सर्वोच्च अदालतको विशेष इजलासमा भएको सुनुवाई पूरा नभएपछि फेरि दशैंपछिसम्मका लागि सुनुवाई सारेको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
“आजको विशेष इजलासमा वादीकातर्फबाट सुवासचन्द्र नेम्वाङ, चन्द्रकान्त ज्ञवाली र देवेन्द्र नेपालीले बहस गर्नुभयो, तर फैसला आज आएन,” अधिवक्ता अर्यालले भने, “हामीहरुले छिटै मुद्दाको टुंगो लगाउने भनेर सबै अधिवक्ताहरुका तर्फबाट तीनजनाले मात्रै बहस गर्ने निर्णय गरेका थियौं, तर त्यसो हुन सकेन ।”
अर्को सुनुवाई दशैंपछि हुने भनिए पनि सर्वोच्चले मिति नतोकेको अर्यालले जानकारी दिए ।
गत १ चैतमा वाधाअडाकाउ फुकाउ आदेशमार्फत संविधान संशोधन गरी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाइएकोविरुद्ध अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्चले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संवैधानिक विवादका १७ वटा रिट एकैसाथ खारेज गरेको थियो ।
अहिले पनि प्रधानन्यायाधीश समेत रहेका मन्त्रिपरिषद अध्यक्षविरुद्ध परेका रिटहरुको फैसालामा ढिलाई भइरहेको भन्दै अधिवक्ताहरुले असन्तुष्टि जनाएका छन् ।
