समाचारबिहीबार, आश्विन १७, २०७०

प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता शुरू

हिमालखबर

निर्वाचनमा सहभागी हुने सबै दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्ना जिल्लामा मनोनयन दर्ता गराउँदै छन् । आयोगका प्रवक्ता वीरबहादुर राईले सबै जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन बिहान १० बजेदेखि शुरु भएको र हालसम्म कुनै अवरोधको घटनाबारे जानकारी नआएको बताए ।

आयोगले काठमाडाँैंका १० निर्वाचन क्षेत्रको मनोनयनका लागि नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मनोनयन दर्ता गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मनोनयनका लागि कार्यालय प्रवेशमा तीनवटा सुरक्षा घेरा पार गरेर जानु पर्ने व्यवस्था गरिएको छ । मनोनयन गर्ने कार्यकक्षमा उम्मेदवार, प्रस्तावक, समर्थक र केही कार्यकर्ता समेतलाई प्रवेश दिइएको छ । प्रमुख दल एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमाले लगायतले भने मध्याह्नपछि मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

मनोनयनका लागि एमालेका नेता कार्यकर्ताको बाजागाजासहितको जुलुस माइतीघरबाट शुरु भएको छ । यसपछि कांग्रेसको जुलुस शुरु हुने छ ।

एमाओवादीका उम्मेदवारले पनि अपराह्न २ बजे विभिन्न स्थानबाट बाजागाजा र  जुलुससहित मनोनयन गरिने अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिएका छन् ।

मनोनयनका लागि काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादीका नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु उपत्यका बाहिरका आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>