समाचारशुक्रबार, आश्विन १८, २०७०
गोली लागेका आलमलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो
बाराको परवानीपुरस्थित चावसती खाद्य उद्योग नजिकै बिहान करिब ११:३० बजे महमुद आलममाथि गोली प्रहार भएको छ। उनको वीरगञ्जस्थित नेशनल मेडिकल हस्पिटलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवम् संविधान सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका आलमको त्रिवि शिक्षण अस्पाल महाराजगञ्जमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको त्यहाँ अप्रेशनपछि अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ । आलमको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।
पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले अालमको टाउकोमा गोली लागेको र उनको अवस्था गम्भीर भएको हिमालखबरलाई जानकारी दिए ।
भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार दुई व्यक्तिमध्ये एकले आलमलाई गोली प्रहार गरेको अालमका सवारी चालक रविन्द्र ठाकुरले बताएका छन् । गोली प्रहार गर्ने वित्तिकै उनीहरु दक्षिणतर्फ फरार भएका थिए ।
