समाचारशनिबार, आश्विन १९, २०७०
जसरी पनि जित्नुपर्छ भन्ने होइन: नेता नेपाल
१९ असोजमा प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले दलहरु जनताबाट अनुमोदित हुनुपर्छ भन्ने जनताको बहुदलीय जनवादको मान्यताअनुसार आफ्नो पार्टी अघि बढेको बताएका छन् ।
“हामी एकदलीय तानाशाह लाद्ने वा यथास्थितिवादीको पक्षपोषणलाई प्रश्रय दिँदैनौं, परिवर्तनप्रतिको जनताको चाहनालाई सम्बोधन गर्न जनताबाट अनुमोदित हुन चाहान्छौँ ।” नेता नेपालले भने, “एमाले सँधै लोकतान्त्रिक मूल्य र मान्यतामा उभिने पार्टी हो ।”
उनले अर्काे संविधानसभाले ६ महिनाभित्र नयाँ संविधान बनाउने गरी एमालेले आफ्ना घोषणापत्र तयार गर्ने पनि बताए ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ का एमाले उम्मेदवार समेत रहेका नेता नेपालले सक्दो चाँडै संविधान निर्माण गरी मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने र आर्थिक विकासका तर्फ अघि बढ्ने आफ्नो पार्टीको मूल उद्देश्य भएको दाबी समेत गरेका थिए ।
‘संविधान बनाउन नसके अर्कोपटक उम्मेदवार बन्दिन’
यसैबीच, एमालेका महासचिव तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले अब गठन हुने संविधानसभामा आफूले प्रतिनिधित्व गर्ने अवसर जनताले दिएको अवस्थामा पनि नयाँ संविधान बनाउन नसके आफू पुनः यो क्षेत्रमा जनमतका लागि नफर्कने घोषणा गरेका छन् ।
चुनावी प्रचार अभियान बुढानिलकण्ठबाट शुरु गर्ने क्रममा उनले भने, “यो पटक मेरो विजय भएर नयाँ संविधान जारी गराउन सकिन भने म अर्को पटकबाट उम्मेद्वार बन्दिन ।” “सविंधान बनाउन निर्वाचित भएर सविंधान बनाउन नसके पुनः उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्न नेपाली जनता जुट्नुपर्नेमा पोखरेलले जोडदिए ।
उनले साझा पहिचानसहितको संघीयताले मात्रै राष्ट्रियता र राष्ट्रिय एकता मजवुत हुने भन्दै नया संविधान निर्माणका क्रममा एमालेले त्यसैका लागि लड्ने बताएका थिए ।
