समाचारशनिबार, आश्विन १९, २०७०
आलमको अवस्था नाजुक तर, स्थिर
एमाले केन्द्रीय सदस्य एवम् एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलमको मस्तिष्कले राम्ररी काम गर्न छाडेको र श्वासप्रश्वाससाथै मुटुको चाल पनि निकै कम भएको १९ असोज दिउँसो चिकित्सकले बताएका थिए । राति अबेरसम्म पनि आलमको अवस्था उस्तै रहेको चिकितसक सुवास आचार्यले बताएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेका आलामलाई बरिष्ठ नशारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा र नेकपा (एमाले) का नेता डा. वंशीधर मिश्रसमेतले स्वास्थ्य जाँच गरेका छन् ।
१८ असोज बिहान ११स्३० बजे बारामा अपिरिचित मान्छेले कञ्चटमा गोली प्रहार गरेपछि वीरगञ्जको नेशनल अस्पतालमा प्रारम्भिक उपचारपछि आलमलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीले विशेष टोली १८ असोजमै घटनास्थल पठाएको छ ।
मुस्लिमसम्बद्ध विभिन्न संस्थाहरुले मुसलमान समुदायमाथि पटकपटक सांघातिक हमला हुने गरेको र आलममाथिको आक्रमण पनि त्यसैको शृंखला भएको भन्दै रोश प्रकट गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग र नेकपा एमालेले घटनाप्रति दुख व्यक्त गर्दै उम्मेदवारहरुको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
