समाचारआइतबार, आश्विन २०, २०७०
आलमलाई उपचारका लागि विदेश लैजान माग गर्दै चक्काजाम
काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत आलमको मस्तिष्कले काम गर्न छाडेको र उनको अवस्था अत्यन्तै नाजुक भएकोले उनलाई थप उपचारका लागि विदेशको सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लग्नु पर्ने माग गर्दै स्थानीय कार्यकर्ताहरुले परवानिपुर चोकमा टायरबालेर विरोध प्रदर्शन गरेका छन् ।
आलमसँगै काठमाडौँमा रहेका उनका आफन्तलाई एमाले नेता केपी ओलीले थप उपचारका लागि विदेश लैजान आफूले पहल गर्ने बताएपछि त्यो खवर पाएर प्रदर्शनकारीले अवरुद्ध बाटो खोलेका थिए ।
आलममाथि भएको आक्रमणबारे प्रहरीले अनुसन्धान शुरु गरेपनि अपराधीबारे अहिलेसम्म कुनै जानकारी हासिल गर्न सकेको छैन ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले १८ असोजमा बिहान बाराको परवानीपुरमा आलमको कञ्चटमा गोली प्रहार गरी भागेका थिए । सिकिस्त घाइते आलमलाई वीरगञ्जमा प्रारम्भिक उपचारपछि काठमाडौं ल्याएर शल्यक्रिया गरे पनि उनको अवस्थामा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।
आलम एमाले केन्द्रीय कमिटी सदस्य साथै एमालेको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संठनका अध्यक्षसमेत हुन् ।
बिम्मी शर्मा, वीरगञ्ज
