समाचारसोमबार, आश्विन २१, २०७०
१२० राजनीतिक दलका ६३४३ उम्मेदवार
निर्वाचन कार्यक्रमअन्तर्गत २१ असोजमा देशभरका जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित नामावली अनुसार १२० दलका ६३४३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार कुल उम्मेदवारमध्ये ६७२ जना महिला एकजना तेस्रो लिङ्गी छन् । त्यसैगरी १०१९ स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत २२ असोजमा उम्मेदवारको नाम फिर्ता लिने, २३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र २४ असोजमा निर्वाचन चिन्ह प्रदान गरिने छ ।
निर्वाचनका लागि आयोगमा १३० वटा राजनीतिक दलले आवेदन दिएकोमा प्रत्यक्षतर्फ १२० दलले मात्र सहभागिता जनाएका छन् । त्यसैगरी समानुपातिक निर्वाचनमा भने १२४ राजनीतिक दलले भाग लिएका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवारी नदिएका दलमा सङ्घीय विकास पार्टी, नेपाल गणतान्त्रिक एकता पार्टी, नयाँ सङ्घीय जनधारणा पार्टी र नेपाल जनहित पार्टी रहेको आयोगले जनाएको छ ।
१४ जनाको उम्मेदवारी बदर
आयोगका अनुसार १३ विभिन्न क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका १३ जनाको उम्मेदवारी बदर भएको छ ।
उमेर नपुगेका कारण भोजपुर क्षेत्र १ का पासाङ दोर्ची शेर्पा धादिङ क्षेत्र नं. २ का सदुन खाँड ठकुरी, पर्सा क्षेत्र नं. ५ सन्तोषकुमार साह, पर्सा क्षेत्र नं. ३ का अलोककुमार चौरासिया, पर्सा क्षेत्र नं.३ कै सत्यनारायण प्रसाद, कपिलवस्तु क्षेत्र नं.४ का दिनेशकुमार गुप्ता, सोही क्षेत्रका अजय थापा, सल्यान क्षेत्र नं.२ का लाकेन्द्र विश्वकर्मा, सप्तरी क्षेत्र नं। ६ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अमरेन्द्र यादवको उम्मेदवारी रद्द भएको छ ।
त्यसैगरी पार्टीको आधिकारीक उम्मेदवार नभएका कारण नुवाकोट क्षेत्र नं.२ का बद्री मैनाली, पर्सा क्षेत्र नं.३ का सत्यनारायण मण्डलको उम्मेदवारी रद्द भएको छ ।
त्यस्तै रौतहट–३ का आरिफ मोहमदको समर्थक अर्काे निर्वाचन क्षेत्रका भएकाले र कैलाली क्षेत्र नं.४ का डिल्लीबहादुर विष्टको समर्थकको उमेर नपुगेका कारण उम्मेदवारी वदर भएको प्रवक्ता राईले जानकारी दिए ।
अखण्ड नेपाल पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिएका सन्तोषकुमार यादवका प्रस्तावक र समर्थक सम्बन्धित निर्वाचन क्षेत्रको नभएकाले उनको उम्मेदवारी पनि रद्द भएको छ ।
बन्दसूची ६ कात्तिकमा सार्वजानिक गर्ने
यसैबीच आयोगले समानुपातिक निर्वाचनको राजनीतिक दलले आयोगमा बुझाएको उम्मेदवारीको बन्दसूची कात्तिक ६ गते सार्वजनिक गर्ने जानकारी दिएको छ ।
अयोगका प्रवक्ता राईका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलले आयोगमा प्रस्तुत गरेका बन्दसूचीमाथिको काम २५ असोजमा सम्पन्न गरिने आयोगको लक्ष्य छ ।
