समाचारमंगलबार, आश्विन २२, २०७०
‘चुनाव बिथोल्ने घोषणा गरेका दल प्रमुख चुनौती’
२२ असोजमा नेपालगञ्जमा शुरू भएको मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री माधव घिमिरेले सबै चुनौतीको सामना गर्न एकीकृत सुरक्षा रणनीति तय गरिएको बताएका छन् । उक्त योजना अनुसार चुनावमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचर निकाय परिचालन गरिने घिमिरेले जानकारी दिए ।
उनले केन्द्रीय स्तरमा सुरक्षा रणनीति बनिसकेकोले अब क्षेत्र, जिल्ला र मतदान स्थलको रणनीति तय गर्न क्षेत्रीय सम्मेलन गरिएको भन्दै उमेद्वारको सुरक्षामा विशेष ध्यान दिइएको पनि दाबी गरे । २१ असोजमा यस्तै सुरक्षा सम्मेलन सुदूरपश्चिमको धनगढीमा भएको थियो भने बाँकी ३ क्षेत्रमा पनि गृह मन्त्रालयले सम्मेलन गर्दैछ ।
एकदिने सुरक्षा सम्मेलनमा भाग लिन निर्वाचन आयुक्त रामभक्त पिभी ठाकुर, गृह तथा रक्षा सचिव, आइजीपी कुवेरसिंह राना, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, नेपाली सेनाका बलाधिकृत रथी नेत्रबहादुर थापा लगायत सुरक्षा अधिकारी नेपालगञ्ज आएका छन् ।
कार्यक्रममा मध्यपश्चिमका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र र नेपाली सेनाका अधिकारी सम्मिलित छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
