समाचारमंगलबार, आश्विन २२, २०७०
मध्यतराईको दशैं झिझियाले उत्सवपूर्ण

‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा
बालक तोहर किछियो ने जनैछौं हो…’
मध्यतराई क्षेत्रमा नाचिने झिझिया नृत्यमा तान्त्रिक अनुष्ठान समेत हुने गर्छ । परम्परागत मान्यता अनुसार दशैंका बेलामा विभिन्न नकारात्मक शक्तिहरुले तन्त्र–मन्त्र साधना गरी गाउँलेको जीवनमा दुख–कष्ट निम्त्याउन सक्ने हुँदा त्यसको प्रतिकारका लागि झिझिया नृत्यको आयोजना गरिन्छ ।
घटस्थापनादेखि शुरु हुने झिझिया नृत्यको तयारी महिलाहरुले एक महिना पहिलेदेखि नै शुरु गर्छन् । सिंगारिएको माटोको गाग्रोमा स–साना प्वाल पारेर बनाइएको झिझियाभित्र दियो बाली टाउकोमा राखेर जोगिन–डायन भगाउने गीत गाउँदै झिझिया नाचिन्छ ।
झिझिया विशेष गरी महिलाहरुले नाच्ने भए पनि यसमा पुरुषहरुको सहभागिता पनि उत्तिकै हुन्छ । महोत्तरी मधवा गाउँका सिरिठ सदा भन्छन्, “सानै छँदा बहिनीसँग झिझिया नाच्न गइन्थ्यो अब श्रीमति र छोरीसँग नाच्ने गरेको छु ।”
कम्तिमा पनि १५–२० जनाको समूहमा नाचिने झिझिया ढोलक, झाईल, झामर जस्ता बाजाको तालमा गीत गाउँदै नाचिन्छ । घरघरमा गई नाच्ने झिझिया समूहलाई घरधनीले कोसेली स्वरुप पैसा र चामलदाल दिने गर्छन् ।
तन्त्रमन्त्र र जादुटुनाको अन्धविश्वासलाई प्रचार गर्ने झिझिया आधुनिक समाजमा उपयुक्त नभएको बताउने जनकपुरका प्राध्यापक विजय दत्त भन्छन, “तर, अन्धविश्वासलाई छाडेर लोक–संस्कृतीको जगेर्नाका लागि यसलाई मनाईयो भने बढी फलदायी हुन्छ ।”
झिझिया गायन तथा नृत्यको आफ्नै मौलिक परम्पराले अहिले यस्ले पुनः ब्यापकता पाउन थालेको दत्तको भनाई छ । उनले भने, “झिझियाका नकारात्मक प्रचलनलाई हटाएर यस्लाई मैथिल परम्परा र कलाका रुपमा विकास गरिनु आवश्यक छ ।”
मनिका झा, जनकपुरधाम
