समाचारबिहीबार, आश्विन २४, २०७०
दैलेखमा प्रहरी जवानद्वारा निरीक्षकको हत्या
दैलेखमा कार्यरत प्रहरी निरीक्षक हेमराज भट्टलाई २४ असोज विहान ५ बजे टाउकोमा गोली प्रहार गरी प्रहरी जवान कमलप्रसाद शर्माले हत्या गरेका छन् भने निरीक्षक भट्टलाई प्रहार गरे लगत्तै आफ्नै पेटमा गोली हानी शर्माले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलखमा कार्यरत प्रहरीहरुले जनाएका छन् ।
बैतडी घर भएका प्रहरी निरीक्षक भट्टलाई दैलेखकै स्थानीय प्रहरी जवान शर्माले दशैमा विदा नपाएको रिसमा गोली हानेको अनुमान उनका सहकर्मीहरुको छ ।
प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन सुरक्षा समितिको बैठकमा भाग लिन नेपालगञ्ज गएकाले भट्ट नै निमित्त प्रमुख थिए । उनीमाथि एसएलआरले दुई राउण्ड गोली हानिएको प्रहरी स्रोतले जनाएको छ । भट्टकै सहयोगी समेत रहेका शर्माले सुतेका बेला गोली प्रहार गरेको बताइएको छ ।
घटनाको अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालयबाट बरिष्ट प्रहरी उपरीक्षक मधु पुडासैनीको टोली घटनास्थलमा आइपुगेको छ ।
घटनास्थलमा खाटमुनी एउटा एसएलआर र तीनवटा गोलीका खोका भेटिएको स्थानीय पत्रकार विष्णु शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार प्रहरी जवान शर्माका आफन्तले घटनामा कमलको संलग्नता नभई दुवैजनालाई तेस्रो व्यक्तिले हत्या गरेको हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । आफन्तहरुले केहीबेर जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।
घटनास्थलमा भेटिएको एसएलआर प्रहरी जवान कमलप्रसादले चलाउने नभइ अरु नै प्रहरीको भएकोले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको वरिष्ठ प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिएका छन् ।
