थप समाचारबिहीबार, आश्विन २४, २०७०
उम्मेदवारको फिल्मी सीडी
आगामी निर्वाचनलाई लक्षित गरी मोरङ–५बाट दलित जनजाति पार्टीका उम्मेदवार सलिम अन्सारीले दलित युवक सिरु ऋषिदेवको हातबाट आफूले निर्माण गरेका फिल्मको सीडी बिमोचन गराएका छन् ।
सलिमले बनाएको भोजपुरी भाषाको ‘इन्तजार करब कयामत से कयामत तक’ र हिन्दी ‘लाल मधेस’ को सीडी सार्वजनिक गरेका हुन् । उनका अनुसार नेपाल र भारत दुबै देशका लागि विराटनगरबाटै सीडी बिमोचन गरिएको हो ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रीय सदस्य बनेलगत्तै उनले आफूले मागेको क्षेत्र नपाएपछि १६ असोजमा नयां पार्टीमा लागेर उम्मेदवारी दिएका हुन् ।
मधेश आन्दोलनबाट राजनीतिमा चिनिएका सलिम यसअघि फोरम मधेशमा थिए ।
हिन्दी भाषाको चलचित्र बनाएर चर्चामा आएका सलिमले ‘लाल मधेश’लाई भारत विहारमा लाल क्रान्तिका नामले फिल्म चलाएका थिए ।
उनले निर्वाचनमा उपेन्द्र यादव, अमृत अर्याल, रामलाल साह, बालेश्वर कामत, दिनेश यादवहरुसँग प्रतिस्पर्धा गर्दैछन् ।
कमल रिमाल, विराटनगर
