थप समाचारशुक्रबार, आश्विन २५, २०७०
एमाओवादी नेतामाथि वैद्य माओवादीको आक्रमण
२४ असोजमा चुनावी प्रचार अभियानका क्रममा म्याग्दीको मराङमा आमसभा सकेर बिम–४ मा पुगेका एमाओवादीका पुष्कर विकको टोलीमाथि वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् । माओवादी कार्यकर्ताले बाटामा हिँड्दै गरेको अवस्थामा आक्रमण गर्दा नेता विक र घतान– ९ का कार्यकर्ता ईश्वर सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुवैलाई टाउको, आँखा र अनुहारमा चोट लागेको छ ।
घाइतेलाई राति सदरमुकाम बेनीस्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीनायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइसकिएको छ । घाइते विक एमाओवादीका समानुपातिकतर्फका प्रस्तावित उम्मेदवार हुन् ।
एमाओवादीका उम्मेदवार लोकेन्द्र विष्ट मगरले चुनाव प्रचारप्रसारका क्रममा बिम पुगेका आफ्ना कार्यकर्तालाई माओवादीका जिल्ला सेक्रेटरी रेशम जुक्जालीको नेतृत्वमा आक्रमण गरी कुटपिट भएको बताएका छन् ।
नेकपा–माओवादी म्याग्दीका इन्चार्ज गमबहादुर श्रीशले घटनालाई ‘जनताको प्रतिरोध’ बताएका छन् ।
