समाचारशुक्रबार, आश्विन २५, २०७०
आलमको अन्त्येष्टि गरियो, पत्नी नाजमा उम्मेदवार
एमाले केन्द्रीय सदस्य एवम् बाराको ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य उम्मेदवार रहेका महमुद आलमको इस्लाम परम्परा अनुसार उनको गाउँमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओलीलगायत हजारौं नेता, कार्यकर्ता र शुभचिन्तकहरु सहभागी भए ।
परवानीपुरस्थित अरनिको टेक्सटाइल छेउमा रहेको चौरमा मृतक आलमको आत्माको चीर शान्तिको कामना गर्दै मुस्लिम समुदायका नेता, कार्यकर्ता तथा शुभ चिन्तक हजारौंले अन्त्येष्टिअघिको जुम्मा नमाज दिउँसो १:३० बजे पढेका थिए भने पछि जनाजाको नमाज अदा गरी परवानीपुरको लिपनीमाल–८ स्थित कबरगाहमा पार्थिव शरीरको अन्त्येष्टि गरियो ।
अन्त्येष्टिपछि आयोजित शोकसभामा एमाले नेताद्वय नेपाल र ओलीले आलमका हत्यारा पत्ता लगाई अविलम्ब कारवाही गर्न सरकारसँग माग गरे । नेता ओलीले केही सञ्चारमाध्यमबाट आलमको चरित्रमा खोट लगाउने गरी समाचार आएको भन्दै त्यसबारेमा पनि छानबिन हुनुपर्ने बताए ।
नेकपा एमालेको भ्रातृ संङ्गठन मुस्लिम इत्तेहाद संङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका बाराको लिपनीमाल गाबिस–१ निवासी ५० वर्षीय आलमलाई १८ असोजमा भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी आएका दुई अपरिचित व्यक्तिमध्ये एकले लिपनीमलस्थित चावसती खाद्द उद्योग अगाडि कार्यकर्तासँग कुरा गरिरहेका बेला गोली प्रहार गरेका थिए ।
कञ्चटमा गोली लागेर घाइते भएका आलमको उपचारको क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा २४ असोज दिउँसो १२:३० बजे निधन भएको घोषणा गरिएको थियो ।
आलमकी पत्नी नजमा उम्मेदवार
आलमको निधनपछि एमालेले बारा–४ बाट उनकी पत्नी नाजमा खातुनलाई पार्टीका तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
अन्त्येष्टिमा सहभागी एमाले बरिष्ठ नेता माधव नेपालले आलमकी पत्नी नाजमा खातुनलाई ४ मंसीरमा हुने संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।
नेता आलमको निधनपछि निर्वाचन आयोगले उक्त क्षेत्रको सबै उम्मेदवारी रद्द गरिसकेको छ भने नयाँ उम्मेदवारी दर्ताको काम छिटै हुने जनाएको छ ।
श्याम गुप्ता, बारा

